क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङमा नलाग्न आग्रह

| 2022 Feb 09 | 07:00 am 1165

काठमाडौँ, माघ २६ः नेपाल राष्ट्र बैङ्कले कोही पनि व्यक्ति छोटो समयमा नै धेरै कमाउन सकिने प्रलोभनमा परेर क्रिप्टोकरेन्सी, यससँग सम्बन्धित लगानी, नेटवर्क मार्केटिङको व्यवसायमा नलाग्न सचेत गराएको छ । पछिल्लो केही समययतादेखि नेपालमा बसेर वा विदेशमा बस्ने नेपालीहरू पनि यस्तो व्यावसायमा आबद्ध हुन थालेको भन्दै नेपाल राष्ट्र बैङ्कले विज्ञप्ति जारी गरेर सचेत गराएको हो । कानुनले मान्यता नदिएका यस्तो कारोबार वा व्यवसायमा लाग्दा लगानी डुब्ने उच्च जोखिम हुनुको साथै गैरकानुनी भएकाले कारबाहीसमेत हुन सक्ने राष्ट्र बैङ्कले जनाएको छ।

नेपाल राष्ट्र बैङ्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपालमा क्रिप्टोकरेन्सीलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको मुद्रा वा विदेशी मुद्रा वा विदेशी विनिमयको मान्यता नदिइएकाले यसलाई भुक्तानी गर्न, सटही गर्न वा मौद्रिक उपकरणको रूपमा प्रयोग गर्न बन्देज लगाइएको छ।’’ विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने केन्द्रीकृत भर्चुअल करेन्सी र विकेन्द्रीकृत भर्चुअल करेन्सीमध्ये दोस्रो प्रकारलाई क्रिप्टोकरेन्सी भन्ने गरिन्छ । क्रिप्टोकरेन्सीलाई कुनै वित्तीय संस्थाको मध्यस्थताबिना नै रकमान्तर गर्न सकिन्छ र यसमा क्रिप्टोग्राफीको प्रयोग गरेर बेनामी कारोबार हुनेगर्छ ।

यसको लेखाङ्कन कुनै बैङ्क वा खास संस्थाले नभई विकेन्द्रीकृत रूपमा ब्लकचेन प्रविधिमार्फत गरिन्छ । जनवरी २०२२ सम्ममा आठ हजारभन्दा बढी क्रिप्टोकरेन्सी रहेको अनुमान गरिएको राष्ट्र बैङ्कले जनाएको छ । यीमध्ये बिटक्वाइन पहिलो र सबैभन्दा व्यापक क्रिप्टोकरेन्सी मानिएको छ । क्रिप्टोकरेन्सीको कारोबारलाई एल साल्भाडोर बाहेक अन्य कुनै पनि मुलुकले कानुनी मान्यता नदिएको राष्ट्र बैङ्कले जनाएको छ । अन्य केही मुलुकले भने यसलाई मुद्राको रूपमा मान्यता नदिएको तर डिजिटल सम्पत्ति भने मानेर यसको माइनिङ, खरिद बिक्री र स्वामित्वलाई नियमन गरी वैधानिकता दिएको राष्ट्र बैङ्कको विज्ञप्तिमा उल्लेख छ ।

तर नेपालमा कानुन अभावका कारण हालसम्म यसलाई डिजिटल सम्पत्तिका रूपमा मान्यता दिइएको छैन । कुनै प्रयोगकर्ता वा कारोबारसँग सम्बन्धित समस्या वा विवाद भएमा लगानीकर्तासँग खास नियामकीय वा कानुनी उपचार नरहने राष्ट्र बैङ्कले स्पष्ट पारेको छ । राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सीसँग सम्बन्धित लगानी आतङ्कवादी क्रियाकलापमा प्रयोग हुन सक्ने र आपराधिक गतिविधिबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्न तथा कर छली गर्नका लागि प्रयोग गर्ने माध्यम हुने गरेको देखिएका जनाएको छ ।

विदेशमा बसोबास गर्ने नेपालीलाई समेत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ आकर्षित हुने भएकाले विदेशमा लगानी गर्नका लागि नेपालबाट पुँजी रकम लैजान वा नेपालमा बस्ने आफन्त तथा साथीभाइबाट पैसा मागी उनीहरूलाई विदेशमा लगानी गर्न सहजीकरण गर्ने कार्य गैरकानुनी तथा दण्डनीय रहेको पनि राष्ट्र बैङ्कले जानकारी दिएको छ । क्रिप्टोकरेन्सीको प्रयोगबाट ठगी तथा कर छली जस्ता अवैधानिक कार्य हुन सक्ने वित्तीय स्थायित्वमा प्रतिकूल प्रभाव पर्नसक्ने, केन्द्रीय बैङ्कको नियन्त्रणबाहिर भएकाले मौद्रिक नीतिको प्रभावकारितामा असर पर्न सक्ने जोखिम राष्ट्र बैङ्कले औँल्याएको छ ।

यस्तो व्यवसायबाट पुँजी पलायन हुन सक्ने भएकाले विप्रेषणमा कमी आउने र विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने र यस कारोबारमा युवा जनशक्ति बढी आकर्षित हुन सक्ने भएकाले उनीहरूको व्यक्तिगत जीवन र देशको आर्थिक सामाजिक व्यवस्थामा प्रतिकूल प्रभाव पर्न सक्ने राष्ट्र बैङ्कको दाबी छ । त्यस्तै राष्ट्र बैङ्कले पछिल्लो समय नेपालमा जोसैल, क्राउड वान, सोलेम्याक्स ग्लोबल जस्ता संस्थाले मार्केटिङ कम्पनीको नाममा नेकवर्क मार्केटिङ सञ्चालन गरिरहेको भन्दै त्यस्तो मर्केटिङमा नफस्न सचेत गराएको छ ।

सूचना प्रविधिको विकास र इन्टरनेटको पहुँच बढकेकाले मल्टी लेभल मार्केटिङ (एमएलएम) बढ्न थालेको आशङ्का केन्द्रीय बैङ्कले गरेको छ । नेटवर्क मार्केटिङ त्यस्तो व्यवसाय हो; जसमा नयाँ ग्राहकलाई सदस्य बनाई उनीहरूबाट थप सदस्य बनाउँदै प्रडक्ट वा सर्भिसको बिक्री गर्दै जान प्रोत्साहन गरिन्छ । त्यसबापत कमिसनको व्यवस्था गरिएको छ । यस्तो व्यवसायमा नवप्रवेशीहरू ठगिने सम्भावना अधिक रहेको हुन्छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.