क्यान्सरपीडितको सहयोगका लागि सेलरोटी अभियान

रिपोर्ट नेपाल | 2018 Aug 03 | 11:20 am 2530

मोरङ, साउन १८: मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी बेच्ने अभियान चलाएको छ।

सो अभियानअन्तर्गत लायन्स क्लब अफ लेटाङकी अध्यक्ष शान्ति लामा पाख्रिनको नेतृत्वमा लायन्स क्लब अफ पथरी, पथरी वाणिज्य संघसमेतको सहकार्यमा घरमा बनाइएको सेलरोटी दिएर बिहीबार पथरी बजारमा सहयोग रकम संकलन गरिएको हो। सेलरोटी र एक बोतल पानी दिँदै इच्छाअनुसारको सहयोग माग्ने क्रममा पथरी बजारबाट रु ७१ हजार ८८५ संकलन भएको थियो ।
उक्त रकममा नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिले सहयोगी टोलीलाई कार्यालयमै बोलाएर सहयोग रकम प्रदान गरेका थिए।

‘लेटाङ प्रिन्सेस’– २०१८ की बिजेता सुजता खतिवडा, फष्ट रनरअप जानुका मगरसमेत सो अभियानमा सहभागी भई गत सोमबार बेलबारी बजारमा रु ६१ हजार २११ रकम संकलन गरेका थिए। विपन्न परिवारकी बालिकाको भरतपुर अस्पतालमा किमोथेरापी शुरु गरिएको छ । विदेशबाट पनि सहयोग प्राप्त हुँदै गरेको अभियानकी संयोजक शान्ति लामा पाख्रिनले बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.