काठमाडौं, भदौ २१: नेपाल प्रहरीमा लामो मसय देखि रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको लागि चलखेल र छलफल सुरुवात भएको छ ।
गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयको जिम्मेवारी लिएपछि घटाइएको दरबन्दीलाई विभिन्न समस्याको नाममा बढाउने तयारी भएको बुझिएको छ ।
क्रमसंख्याको आधारमा बढुवा गर्नेकी क्षमताको आधारमा भन्ने चर्चा र विवादले रोकिएको एआइजीको बढुवा सम्बन्धी छलफल आज बिहिबार हुने संभावना रहेको छ ।
एक स्रोतले दिएको जानकारी अनुसार क्रमसंख्याको आधारमा बढुवा गर्दा भागवण्डा अनुसार नहुने भएपछि संख्या बढाउने कुरामा पनि छलफल भइरहेको छ ।
प्रहरी महानिरीक्षक बढुवाको चर्चामा रहेका पुष्कर कार्की एक नम्बरमा छन् भने दुई नम्बरमा रहेका मनोज नेउपाने महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
त्यस्तै तीन नम्बरमा ठूले राई छन् भने चार नम्बरमा धिरु बस्नेत रहेका छन् । पाँच नम्बरमा रहेका सुरेश विक्रम शाह क्रमसंख्यामा पछाडी भएपनि उनी क्षमतावान् र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रुपमा परिचित अधिकारी हुन् ।
कुनै दुर्घटना नभए आज बिहिबार बढुवा समितिको बैठक बसेर एआइजी बढुवाको सिफारिस गर्ने बुझिएको छ ।