काठमाडौं, फागुन १५ : बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएको छ । पाथीभरा दर्शन गरेका फर्किएका मन्त्री अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।
कास्कीबाट तीन पटक लगातार चुनाव जितेका अधिकारी अघिल्लो वर्ष पहिलो पटक मन्त्री भएका थिए । अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष चैत २ गते मन्त्री नियुक्त गरेका थिए ।
नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद अधिकारी पर्यटन मन्त्रीको रूपमा वर्तमान सरकारमा जिम्मेवारी पाएका थिए । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधैँ देश र जनताको बारेमा सोच्ने अधिकारी सबै नेपाली जनताको प्रिय साझा नेता थिए ।
राजनीतिक विश्लेषकहरूले उनलाई नेकपाको भविष्यको पार्टी अध्यक्ष र नेपालको प्रधानमन्त्री हुनसक्ने प्रबल सम्भावना रहेको क्षमता भएको नेताको रूपमा हेरेका थिए। तर पनि पछिल्लो समय भएको वाइडबडी भ्रष्टाचार काण्डमा भने उनको नाम जोडिँदा केही प्रतिष्ठा खस्किएको थियो ।
बाल्यकाल
२०२६ वैशाख २२ गते आइतबार कास्की जिल्लाको भरत पोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका ज्येष्ठ सुपुत्रको रूपमा जन्मेका थिए । गाउँकै श्री ब्रह्म ज्योति प्रावि शान्ति पँधेरा गैरागाऊंबाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च मावि) बरपाण्डेथुम बाट माध्यमिक शिक्षा हासिल गरेका थिए ।
बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक विद्यालयका शिक्षक थिए । जसका कारण पनि उनलार्ई शिक्षाका लागी राम्रो वातावरण घर देखि नै थियो ।
सानै उमेर देखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरूमा संलग्न भएका थिए ।
विद्यार्थीका लागी निःशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगायतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी हाई स्कुले जीवनमा विद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित विद्यार्थी थिए ।
विद्यार्थी राजनीति र उच्च शिक्षा
प्रवेशिका उत्तीर्ण गर्ने बित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएको भए पनि केही समय पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरु गरेका थिए ।
विद्यालय देखि नै राजनीतिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि विद्यार्थी राजनैतिक गतिविधिमा सक्रिय रहनु मात्र भएन, २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित भएका थिए ।
२०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएका थिए ।
त्रि.बि. बाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले संविधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गरेका छन् । विगत दुई दशक देखि उनका सयौँ अनुसन्धान र राजनीतिक लेखहरू छापिएका छन् ।
अधिकारीको विद्यार्थी आन्दोलन र जेल
पंचायतकालमा विद्यार्थी आन्दोलन स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील रहेका थिए । ०४६को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायतकालमा पटक-पटक गरी छ महिना जेल र हिरासतमा बिताएका थिए ।
०४६को परिवर्तन पछि विद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गरेका थिए।
नेकपा एमाले पार्टी राजनीतिमा
२०४५ सालमा पार्टीको सङ्गठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा सङ्गठित भएका थिए । २०४०मा इलाका पार्टी कमिटीमा,२०४६/ ४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय रहेका थिए ।
२०६०मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव र ०६३ मा पनि पुन: सचिवमा निर्वाचित भए । ०६२/६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमन विरुद्धको आन्दोलनमा पटक पटक गरी पाँच महिना जेल बसेका थिए ।
संसद् र संविधान सभा
२०६४ / २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएपछि संसद्मा खेलेको भूमिका सबै लाई अवगत भएकै कुरा हो । सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्योंसी, सार्वजनिक संस्थान,बैङ्क, उद्योग, सेना, विकास खर्च, मेसिन रीडएबल पासपोर्ट आदि विषयमा विभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए ।
संविधानसभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरूको दबाब समिति निर्माण गरी संविधान सभा निर्माणमा निरन्तर खबरदारी गरेका थिए । संविधानसभा निर्माणमा सुरक्षा र अन्तर्राष्ट्रिय सीमाका विषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो । २०७० को चुनाव पछि संसद्को विकास समितिमा सभापति रहेका थिए ।
संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरू र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील रहेका थिए । भने २०७४ सालको सङ्घीय संसद्मा कास्की क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । लगातार तेस्रो पटक निर्वाचित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए ।
राजनीति र विकास
राजनीति र विकास एक अर्काका अन्तरसम्बधित हुन भन्ने ठान्ने रबिन्द्र अधिकारी संविधानसभा र संसद्मा रहँदा कास्की जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नु भयो । पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षण, सरसफाइ,पोखरा फराकिलो बनाउने,पुलहरू निर्माण गर्ने ,पोखरा विश्वविद्यालय ,पृथ्वीनारायण क्याम्पस लगायत विभिन्न विद्यालयहरूको निर्माण, पोखराको खानेपानी, क्लबहरू,खेलकुदको क्षेत्रमा पनि उलेख्य भूमिका खेलेका थिए।
पोखरालाई विश्वकै उत्कृष्ट सहर बनाउने अभिष्ट बोकेका अधिकारी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौँ पोखरा लुम्बिनी फास्ट ट्रयाक, काठमाडौँ पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पूर्वाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
विकासका लागी राजनीति भन्ने मान्यता अनुसार कास्की जिल्ला मात्र हैन मुलुककै आर्थिक विकासको दृष्टिकोण दिँदै आएका अधिकारी एक जना विकासप्रेमी राजनेता थिए । पछिल्लो समय व्यवस्थाका संसद्को विकास समितिको सभापति भएपछि उनलाई नेपालको विकासमा केही हस्तक्षेप गर्न, केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने लागेर विकासका कार्यमा झनै सक्रियताका साथ उनी लागी परेका थिए।