कोसी अस्पतालमा बिरामीको चाप

रिपोर्ट नेपाल | 2022 Jul 25 | 06:37 am 1549

माेरङ, साउन ९ः निजी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बन्द गरेपछि विराटनगरको कोसी अस्पतालमा बिरामीहरूको चाप बढेको छ।

स्वास्थ्य केन्द्रहरूबाट सिफारिस ल्याउने अधिकांश बिरामीले विराटनगरस्थित नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजबाट उपचार सेवा लिने गरेका थिए। निजी क्षेत्रका अस्पतालले बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा सेवा बन्द गरेपछि त्यहाँका बिरामी कोसी अस्पतालमै जान थालेका छन्। यस क्षेत्रका अरू दुईवटा ठूला अस्पतालबाट सेवा लिइरहेका सर्वसाधारण कोसीमा जान थालेपछि अस्पतालमा चाप बढेको हो।

कोसी अस्पताल विराटनगरमा दैनिक १२ देखि १५ सय बिरामीले ओपीडी सेवा लिने गरेकोमा त्यो सङ्ख्या बढेर दैनिक १९ सय पुग्न थालेको छ। बुधबार र बिहीबार झन्डै १९ सय जनाले ओपीडी सेवा लिएको अस्पतालले जनाएको छ।

साउन १ गतेदेखि यस क्षेत्रका निजी अस्पतालहरूले स्वास्थ्य बीमाअन्तर्गतको उपचार सेवा बन्द गरेपछि अस्पतालमा चाप पर्न थालेको अस्पतालका अधिकृत नवराज लुइटेलले जानकारी दिए । उनका अनुसार साउन सुरुदेखि नै अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ र सेवा प्रवाह गर्न कठिनाइ हुन थालेको छ।

असार मसान्तसम्म दैनिक आठ सयदेखि एक हजार जना बिरामीले बीमा कार्यक्रममार्फत उपचार सेवा लिने गरेकोमा अहिले त्यो सङ्ख्या भन्डै दोब्बर भएको छ। बुधबार र बिहीबार झन्डै १६ सय जनाका दरले बीमा कार्यक्रममार्फत उपचार सेवा लिएको अस्पतालले जनाएको छ।

बिरामीको चाप बढेसँगै कोसी अस्पतालबाट प्रवाह हुने सेवालाई विस्तार गर्ने तयारी गरेको सुरु गरिएको छ। पहिलो चरणमा अस्पतालले फार्मेसीको सङ्ख्या थप गर्न लागेको हो। एउटा फार्मेसीबाट बिरामीलाई औषधि उपलब्ध गराउँदा घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न दुईवटा नयाँ फार्मेसी थप गर्न लागेको अस्पतालले जानकारी दिएको छ। अस्पतालका अधिकृत लुइटेलले लागत स्टिमेट मागेर काम अगाडि बढाइसकिएको र छिट्टै तीनवटा फार्मेसी सञ्चालन गरिने बताए। अहिले एउटा फार्मेसीमा दुईवटा कम्प्युटरबाट प्रविष्टि काम हुँदै आएकोमा अब चारवटा कम्प्युटरबाट प्रविष्टि गरिनेछ।

अस्पतालमा हुने भीडलाई व्यवस्थापन गर्न छिट्टै प्याथोलोजी ल्याबको रिपोर्ट अनलाइन प्रणालीमा लैजाने तयारी थालिएको छ। साउन महिनाभित्रै अनलाइनबाट रिपोर्ट निकाल्न सकिने गरी काम अघि बढाएको अस्पतालले जनाएको छ। प्याथोलोजी रिपोर्टका लागि पनि बिरामीले निकै सास्ती बेहोर्नु परेको थियो भने साधारण जाँचको रिपोर्ट पनि २४ घण्टापछि मात्र पाउने अवस्था छ। बिरामी दर्ता पनि अनलाइनमार्फत गर्ने विषयमा अस्पतालले प्राविधिक छलफल थालेको जनाएको छ। रेडियोलोजी सेवा विस्तारमा भने स्थान अभाव हुँदा समस्या भएको अस्पतालले जनाएको छ। “अहिले हामीसँग रेडियोलोजीमा छवटा मेसिन र सात जना डाक्टरहरू हुनुहुन्छ तर मेसिन राख्ने ठाउँको अभावले गर्दा सेवालाई सहज बनाउन सकिरहेका छैनौँ,” अधिकृत लुइटेलले भने। गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.