कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने

| 2021 Sep 13 | 07:55 am 1757

काठमाडौँ, भदौ २८ः नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीमा अब कोषाध्यक्षबाहेक अन्य सबै पदमा निर्वाचनकै माध्यमबाट पदाधिकारी निर्वाचित हुने भएका छन् । पार्टीमा अब एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री र आठ जना सहमहामन्त्री रहने छन् ।
विगतमा उपसभापति, एक जना महामन्त्री, सहमहामन्त्रीलगायतको पदमा सभापतिले मनोनीत गर्ने गरिएकोमा पार्टीको १४औँ महाधिवेशनबाट अब कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशन प्रतिनिधिबाटै निर्वाचित भएर आउने विधानमा उल्लेख छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले मुख्य पदमा निर्वाचनबाट पदाधिकारी चयन हुनुपर्ने कार्यकर्ताको आवाजलाई विधानबाट सम्बोधन गरेर कार्यान्वयनमा ल्याइएको जानकारी दिए। काँग्रेसका लागि यो पहिलो पटकको परीक्षण भएकाले यसका आधारमा आगामी दिनमा नयाँ नीतिगत व्यवस्था गर्न सकिने उनको भनाइ छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको १४औँ महाधिवेशनमा पार्टीले थप गरेका सबै पदमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको बताए । पदाधिकारीमा काँग्रेसले यस पटक आठ जना सहमहामन्त्रीको व्यवस्था गरेको छ । १३औँ महाधिवेशनबाट एक जना मात्र मनोनीत सहमहामन्त्रीको व्यवस्था गरिएकोमा यस पटक आठवटै पद निर्वाचित हुने प्रावधान राखिएको छ । काँग्रेसको विधानमा महिला, आदिवासी/जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक/एक जना गरी आठ जना सहमहामन्त्री निर्वाचित गर्ने प्रावधान छ । दस वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका सम्बद्ध क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधिले सहमहामन्त्रीको चयन गर्ने छन् ।
सहमहामन्त्रीको पदलाई समावेशिताका आधारमा निर्वाचन गर्ने व्यवस्था काँग्रेसले पहिलो पटक कार्यान्वयनमा ल्याउँदैछ ।

विशेषगरी निर्वाचनबाट प्रभावशाली व्यक्तिहरू निर्वाचित हुन सक्ने भए पनि यसले नीतिगत खालको समस्यासमेत ल्याउन सक्नेतर्फ पनि आफूहरू सजग रहेको जनाइएको छ । खासगरी गरी धेरै पदाधिकारीमा निर्वाचन हुँदा धेरै गुट उपगुटमा सिर्जना हुन सक्ने चिन्ता थपिएको उनले बताए।

काँग्रेसको विधानमा कम्तीमा पन्ध्र वर्ष निरन्तर क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापति निर्वाचित हुने प्रावधान छ । त्यसैगरी कम्तीमा १० वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेका दुई जना उपसभापति र दुई जना महामन्त्री चयन हुने प्रावधान छ ।

१४औँ महाधिवेशनमा नयाँ प्रावधान कार्यान्वयनमा लगिएसँगै काँग्रेसको पदाधिकारीको सङ्ख्या १४ पुगेको छ । यसअघि निर्वाचित र मनोनीत गरेर काँग्रेसको पदाधिकारीको सङ्ख्या पाँच जनाको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.