कोरोना संक्रमितलाई व्यवस्थापन गर्न नसक्ने भन्दै पन्छिने दाउमा सरकार

| 2020 Jun 02 | 08:07 am 1779

काठमाडाैं, जेठ २०ः कोरोना भाइरसबाट संक्रमितको संख्या उकालो लाग्दा सरकारलाई व्यवस्थापनमा मुस्किल परेको छ। समय छँदै कोरोनासंक्रमण नियन्त्रणका लागि पर्याप्त पूर्वाधार व्यवस्थापन गर्न चुकेको सरकार अहिले आएर थपिएका कोरोना संक्रमितलाई व्यवस्थापन गर्न नसक्ने भन्दै पन्छिन खोजेको छ। स्वास्थ्य मन्त्रालयले अब थपिएका संक्रमितलाई होम क्वारेन्टिन राख्नुको विकल्प नभएको बताउन थालेको छ।

स्वास्थ्य मन्त्रालयले गरेको तयारीमा कोरोना संक्रमितका लागि छुट्याइएको आइसोलेसन बेडको संख्या दुई हजारभन्दा कम छ। अहिले दैनिक डेढ सयभन्दा बढी संक्रमित थपिन थालेपछि सरकारको पूर्वतयारी अपर्याप्त देखिएको छ। सरकारले सुरुमा १५ सय बिरामी कोरोनाबाट संक्रमित हुन सक्ने आकलनका साथ तयारी गरेको देखिन्छ। तर संक्रमितको संख्या ह्वात्तै वृद्धि हुन थालेपछि सरकारको अनुमान गलत साबित भएको छ।

स्वास्थ्य मन्त्रालयले प्रदेश १ मा दुई सय ८२, प्रदेश २ मा एक सय ४० रवाग्मती प्रदेशमा ५ सय बेडसंक्रमितलाई आइसोलेसनका लागि छुट्याएकोे छ। गण्डकी प्रदेशमा एक सय १९, प्रदेश पाँचमा दुई सय ६१,कर्णाली प्रदेशमा २ सय ३० र सुदूरपश्चिम प्रदेशमा १ सय ३९ आइसोलेसन बेड छुट्याइएको छ। यो बेडको संख्या लेभल वान, लेभल टु, लेभल थ्री र जिल्ला अस्पतालसमेतको हो।

प्रदेश १ को लेभल वान अस्पतालमा कोरोना अस्थायी अस्पताल (कोसी अस्पताल) लाई तोकिएको छ। उक्त अस्पतालमा ६० बेड आइसोलेसन, १० बेड आइसियू र १० वटा भेन्टिलेटर छन्। त्यस्तै लेभल टुतोकिएको कोसी अस्पतालमा १० बेड आइसोलेसन, ६ वटा आइसियू र दुई वटा भेन्टिलेटर छन्।

लेभल थ्री तोकिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय बेड आइसोलेसन,७२ बेड आइसियू छन्। प्रदेश १ का जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले संक्रमितको संख्या बढ्न थालेकाले बराह क्षेत्रमा डेढ सय र गोठ गाउँमा दुई सय बेडको कोरोना अस्पताल सञ्चालन गर्ने तयारी सुरु गरेको बताए।

प्रदेश २ को लेभल वानका रुपमा छुट्याइएको जानकी मेडिकल कलेजमा ५० बेड आइसोलेसन, १० बेड आइसियू र पाँचवटा भेन्टिलेटरछन्। लेभल टु तोकिएको जनकपुर अस्पतालमा आइसोलेसन १२ बेड, आइसियू १० बेड र तीनवटा भेन्टिलेटर छन्। नारायणी अस्पताल वीरगन्जमा २७ बेड आइसोलेसन, ६ बेड आइसियू र २ वटा भेन्टिलेटरको व्यवस्थापन गरिएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.