कोरोना संक्रमण नियन्त्रण गर्न नयाँ रणनीति

रिपोर्ट नेपाल | 2020 Aug 27 | 07:46 am 2336

काठमाडौं, भदौ ११ः उपत्यकामा कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञासँगै नयाँ रणनीति तयार गरेको छ । उपत्यकाका काठमाडौं र ललितपुर महानगरपालिकासहित १८ नगरपालिकाको फोरमले नयाँ रणनीति तयार गरेको हो ।

स्वाथ्य मन्त्रालयका विज्ञ, स्वाथ्य सेवा विभागसहितको टोलीसँग छलफल गरी उपत्यकामा कोरोना नियन्त्रण गर्न नयाँ रणनीति ल्याएको हो ।

रणनीतिअनुसार उपत्यकामा एकजना संक्रमतिसँग सम्पर्कमा आएका १३ जनासम्मलाई पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ । उपत्यकामा झन्डै ३ हजार ५ जना संक्रमित छन् ।

तीमध्ये एक संक्रमितसँग सम्पर्कमा आएका १३ जनाको पीसीआर परीक्षण गरिने भएको हो । सबै संख्या जोड्दा आउँदो एक साताभित्र करिब ४५ हजारको पीसीआर परीक्षण गरिने भएको छ ।

स्थानीय तहको जनस्वाथ्य विज्ञसहितको टोलीले कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको कोरोना परीक्षण गरिने निर्णय गरिएको बताइएको छ । स्थानीय निकायले कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको सम्बन्धित क्षेत्रमै गएर परीक्षण गर्ने तयारी गरेको छ ।

मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण शुरु भइसकेको जानकारी दिए । उनले भने– केही दिन अघिदेखि नै परीक्षण शुरु गरिसकेका छौं। एकसातामा सबैको परीक्षण सक्ने लक्ष्य लिइएको छ ।

उनका अनुसार सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रका वडा र टोलमा पुगेर परीक्षण गर्ने भएको छ । मेयर महर्जनले भने– संक्रमितबाहेक सरकारी र निजी अस्पतालबाट गरिने परीक्षण यथावत् रहनेछ ।
राजधानीमा कोरोना संक्रमणको दर उच्च विन्दुमा पुगेपछि सरकारले उपत्यकाका सबै स्थानीय निकायलाई फोकल पर्सनका रुपमा एकजना विज्ञ खटाएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.