काठमाडौं, बैशाख २७ः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि हरसम्भव उपायको अवलम्बन गर्न सरकारसँग माग गरेका छन् । कानुन दिवस–२०७८ को उपलक्ष्यमा आइतबार दिइएकाे सन्देशमा प्रधानन्यायाधीश राणाले कोरोना भाइरसको संक्रमणबाट कयौं व्यक्तिले मृत्युवरण गर्नुपरेको अवस्था रहेको उल्लेख गर्दै यसको रोकथाम र नियन्त्रणका लागि हरसम्भव उपायहरू अवलम्बन गर्न सरकारसँग माग गरेका हुन् ।
सन्देशमा भनिएको छ– ‘कोरोना महामारीबाट आम नागरिकका संविधान प्रदत्त हक–अधिकारको उपचार प्राप्ति एवं न्यायको पहुँचमा असुविधा वा कठिनाइ उत्पन्न हुन गएको छ । यस अवस्थालाई परिस्थितिजन्य बाध्यताका रूपमा लिइदिनुहुन पनि म हार्दिक आग्रह गर्दछु ।’ उनले विद्यमान परिस्थितिको आँकलन गरी सेवाग्राहीलाई मर्कालाई ध्यानमा राख्दै न्यायालयले क्रमशः सेवा विस्तार गर्दै लाने प्रतिबद्धता पनि व्यक्त गरे ।’प्रधानन्यायाधीश राणाले कोरोना भाइरसविरुद्धको खोपको विकासले आशाका किरण देखापरेको अवस्थामा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण फैलिएबाट यसको रोकथाम र नियन्त्रणमा थप चुनौती सिर्जना भएको पनि सन्देशमा उल्लेख गरेका छन् ।समानता र न्यायलाई नेपालको संविधानको मूल आत्माका रूपमा स्वीकार गरिएको उल्लेख गर्दै प्रधानन्यायाधीश राणाले त्यसप्रति प्रतिबद्ध रहँदै सहज पहुँचयुक्त एवं जनआस्थामा आधारित न्याय पद्धतिको विकास गर्न कानुन दिवसले सम्बद्ध ऊर्जा र हौसला प्रदान गर्नेमा विश्वास व्यक्त गरे ।
उनले कानुन दिवस कानुन र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र आमनागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै यो दिवसलाई राष्ट्रिय पर्वकै रूपमा मनाउन पनि विशेष आग्रह गरेका छन् । यसैबीच, सर्वोच्च अदालत बार एसोसिएसनले आइतबार शुभकामना सन्देश जारी गरी वर्तमान अवस्थामा हक–अधिकारको उपचार खोज्ने कार्य रोक्नु कदापि उचित नभएको उल्लेख गरेको छ । नेपाल समाचारपत्रबाट