कोरोना महामारी सामुदायिक विद्यालयका लागि सुनौलो अवसर

| 2021 Jun 24 | 04:32 pm 5337

  • वसुधा वस्नेत पाण्डे

    देशमा कोरोना महामारीले सबैक्षेत्रलाई तहसनहस पारेको छ र भविष्यमा अझै के अवस्था हुने हो अहिले नै भन्न सक्ने अवस्था छैन । यसरी कोरोना महामारीले तहसनहस पारेकोमध्ये नेपालको शिक्षा क्षेत्र एक हो । विद्यालयको पुँजी (आम्दानीको स्रोत) भनेको विद्यार्थी नै हुन र यो नीजि र सामुदायिक विद्यालयका लागि सत्य हो । सबै भन्दा ठूलो असर भनेको कोरोना महामारीका कारण विद्यार्थीको घट्दो संख्या नै हो । विभिन्न तथ्याङ्कहरुले यो विद्यार्थीको घटदो संख्यालाई नै पुष्टि गर्दछ । तर अचम्मको कुरा त के छ भने सामुदायिक विद्यालयका लागि नीजि विद्यालयभन्दा तुलनात्मक हिसावले सुनौलो अवसर प्राप्त भएको पाइएको छ ।

    महामारी अगाडि भने सामुदायिक विद्यालयमा विद्यार्थी घटेका थिए, तर महामारीकाबीचमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको पाइएको छ । हुन त शैक्षिक सत्र ०७७ मा सामुदायिक विद्यालयमा साढे दुई लाख विद्यार्थी बढेका थिए भने अघिल्लो शैक्षिक सत्रभन्दा चालू शैक्षिक सत्रमा विद्यार्थीको संख्या साढे ४ प्रतिशतले बढेको पाइएको छ  । यसो हुनुका पछाडि कोरोनाकालमा अभिभावकको आर्थिक अवस्था कमजोर हुनु, भिडभाड कम हुने ठाउँमा सुरक्षित महसुस गर्नु र स्थानीय तहहरूको मेहनेतले पनि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेको होला । तथ्याङ्कहरुले के भनिरहेका छन् भने कोभिड महामारी सुरु भएको एक वर्षमा सामुदायिक विद्यालयमा साढे दुई लाख विद्यार्थी बढेका छन् । कोभिड संक्रमण फैलिएपछि थोरै समय मात्र भौतिक उपस्थितिमा र लामो समय वैकल्पिक विधिबाट पठनपाठन भएको शैक्षिक सत्र २०७७ मा दुई लाख ५४ हजार चार सय ९७ विद्यार्थी सामुदायिक विद्यालयमा बढेका हुन ।

    शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका अनुसार सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ११, १२ सम्म विद्यार्थी संख्या बढेको छ । सबैभन्दा बढी कक्षा १ देखि ५ सम्म एक लाख २८ हजार चार सय ७५ विद्यार्थी बढेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थी बढ्नुमा कोभिडका कारण अभिभावकको आर्थिक अवस्था कमजोर भएर निजीबाट सामुदायिकमा भर्ना गर्नु, सहरमा भन्दा भिड कम हुने ठाउँमा सुरक्षित महसुस गर्नु र स्थानीय तहको प्रयास पनि प्रमुख कारण हुन सक्ने विश्लेषकले औँल्याएका छन् । चालू शैक्षिक सत्र २०७७ मा आधारभूत तह कक्षा (१—८) सम्ममा विद्यार्थी संख्या बढेको छ । यो तहमा मात्र झन्डै दुई लाख विद्यार्थी बढेका छन् । केन्द्रका अनुसार आधारभूत तहमा एक लाख ९२ हजार तीन सय दुई विद्यार्थी बढेका छन् ।

    प्रारम्भिक बालविकासमा यस वर्ष पाँच हजार नौ सय ७२ विद्यार्थी बढेका छन् । कक्षा ९ र १० मा ४० हजार ३९ र कक्षा ११–१२ मा ५६ हजार दुई सय २३ विद्यार्थी बढेको सरकारी तथ्यांक छ । काठमाडौंलगायतका भिडभाड हुने सहरी क्षेत्रका राम्रा सामुदायिक विद्यालयमा कतै थोरै संख्यामा कम भएको छ भने बाहिरका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको छ । केहीमा लकडाउन भएपछि तल्लो तहका विद्यार्थी गाउँ गएर नफर्केको र काठमाडौंमा निजीमा पढिरहेका नयाँ विद्यार्थी त्यहीका सामुदायिक विद्यालयमा भर्ना भएका छन् । अघिल्लो वर्ष लकडाउन भएकाले गाउँका कैयौं विद्यालयहरुमा विद्यार्थीको संख्या धेरै बढेको छ । चालू शैक्षिक सत्रमा कुनै कुनै विद्यालयमा त चार पाँचसयभन्दा बढी विद्यार्थी बढेको बताइन्छ । यसो हुनुको पछाडि नजिकैका निजी विद्यालय र ठूला शहरहरुमा पढिरहेका विद्यार्थीसमेत गाउँका विद्यालयहरुमा भर्ना भएका छन् ।

    लकडाउनको समयमा निजी विद्यालयले गर्न नसकेको काम सामुदायिक विद्यालयले गरेका कारण पनि विद्यार्थी धेरै बढेका छन् । शिक्षा विकास तथा समन्वय एकाइबाट कैयौं ठाउँमा अनुगमन गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी बढेको जानकारी मिलेको छ  । अनुगमनका क्रममा विद्यालयमा पुग्दा हरेक कक्षामा ६–७ जना विद्यार्थी बढेको पाइएको छ । अनुगमन टोलीले कक्षामै पुगेर विद्यार्थीलाई सोध्दा कोही नजिकैको निजी विद्यालय र कोही लकडाउनपछि सहरबाट फर्केको बताइएका थिए । सामुदायिक विद्यालयमा विद्यार्थी बढ्नुमा धेरै पक्षले काम गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी बढ्नु धेरै सकारात्मक पक्ष हो । कोरोना महामारीको जोखिम बढेपछि धेरै विद्यार्थी सहरबाट गाउँ फर्केका छन् ।

    कोभिड महामारीको संक्रमणको समयमा अनलाइनलगायत अन्य वैकल्पिक विधिबाट पढाइ भइरहेको छ । र अनलाइनबाट पढ्न र विद्यार्थीले घरबाटै पढ्ने सामग्री पाएका छन्  । यसरी पढ्ने सामग्री घरमै उपलव्ध भएपछि शुल्क तिरेर निजीमा पढ्नुपर्ने अवस्था रहेन । अर्कोतर्फ कोभिड महामारीको समयमा कतिपय बालबालिकाका अभिभावकको रोजगारी गुमेको छ । उनीहरूलाई शुल्क तिर्न गाह्रो पनि भएको छ । विद्यार्थी बढ्नुमा विद्यालय र स्थानीय तहको मिहिनेत पनि छ । यसरी धेरै कारणले सामुदायिक विद्यालयमा विद्यार्थी बढेका हुन भन्ने तर्क दिनेहरुको कमि छैन । जो वास्तवमा सामुदायिक विद्यालयका लागि एउटा ठूलै अवसर मिलेको छ । पहिलो लहरमा जसरी यसको नकारात्मक असर देखिएको थियो, दोस्रो लहरले झन आम विद्यार्थी, अभिभावक तथा स्कूल र कलेजहरु अस्तव्यस्त जस्तै बनेका छन् ।

    तेस्रो लहरको सम्भावना झन टड्कारो देखिदै गएको अवस्थामा कस्को अवस्था के हुने हो भन्न सकिने स्थिति अहिले छैन । तै पनि सरकारले नागरिकको जीवन रक्षा गर्ने तथा अर्थतन्त्रको पुनरुत्थान गर्ने प्रमुख उद्देश्यका साथ अध्यादेशमार्फत ल्याएको यस आ.व. २०७८ ०७९ को बजेटले उल्लेखित चुनौतीहरको सामना गर्नका लागि भने खासै उत्साहजनक रहेको देखिँदैन । तै पनि अहिलेसममको अवस्थाको विश्लेषण गर्दा कोरोना महामारी सामुदायिक विद्यालयका लागि एउटा सुनौलो अवसर बनेर आएको छ । नेपालको संविधान २०७२ले घोषणा गरेअनु्सार शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकारभित्र पार्ने हिसावले बजेट तर्जुमा गर्नबाट सरकार अझै पछाडि फर्केको प्रतित हुन्छ, परिणाम कोरोना महामारी सामुदायिक विद्यालयका लागि एउटा सुनौलो अवसर बनेर आएको भएता पनि दीर्घकालका लागि यो अभिरुप बन्न नसक्ला भन्ने आधार त्यति बलियो छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.