कोरोना घट्यो, मौसमी रोगको जोखिम बढ्यो

| 2022 Mar 17 | 08:03 am 1609

काठमाडौं, चैत ३ः नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यहीं जमघट भई खाने बानी बढ्दै गएकोमा सरुवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन्। चैतदेखि मौसम परिवर्तन भई गर्मी बढ्ने र यो मौसममा विभिन्न सरुवा रोग लाग्ने हुनाले सफाइमा ध्यान दिन चिकित्सकले सुझाएका छन्।

दुई वर्षसम्म कोभिडले गर्दा बाहिर खुलेर हिँड्न नपाएका कारण अहिले स्वास्थ्य मापदण्डको बेवास्ता गरी हिँड्ने, जमघट हुने र सडक किनारमा राखिएका खाना खाने गतिविधि पर्याप्त देखिन थालेको डा. शेरबहादुर पुन बताउँछन् तर यस्ता खाना दूषित हुने सम्भावना भएकाले यिनको सेवनबाट झाडापखाला, आउँजस्ता सरुवा रोगको जोखिम हुने उनको भनाइ छ। ‘कोभिड घटेपछि धेरै मानिसहरू बाहिर निस्केर खाने, सडकका खानेकुरा खाने गरेको देखिन्छ। यो मौसममा यसरी खाना खाँदा झाडापखाला र आउँ लाग्छ’, उनले भने।

पिउने पानी सफा नभएमा मौसमी रोगको जोखिम बढ्ने डा. पुनले बताए। राजधानी तथा अन्य सहरमा सफा पानीको नाममा जारको पानी पिउने तर जारकै पानी असुरक्षित हुने गरेको र कतिपय समुदायमा अहिले पनि उमालेको पानी पिउने प्रचलन नरहेकाले पानीबाट सर्ने रोगको संक्रमण हुने जोखिम पर्याप्त रहेको चिकित्सक औंल्याउँछन्।

सफाइमा ध्यान नदिँदा बर्सेनि गर्मी मौसममा झाडापखाला, आउँ, टाइफाइडजस्ता रोग लाग्ने गरेकाले पिउने पानीमा बढी चनाखो हुन डा. पुनको सुझाव छ। सकेसम्म उमालेको पानी पिउने, शुद्धीकरण गरेको पानी पिउने र जारको पानी पिउनै परेमा गुणस्तरीय जारको पानी छनोट गरेर मात्र प्रयोग गर्ने गरेमा गर्मीका संक्रमणजन्य रोगबाट बच्न सकिने डा. पुनले बताए। ‘जारको पानी पिएर झाडापखाला लागेका धेरै अनुभव छन्। सही कम्पनी छनोट गरेर मात्र जारको पानी पिउनुपर्छ’, डा. पुनले भने।

जारको पानी परीक्षण गर्दा पहिला कोलिफर्म भेटिएको अनुभव पनि डा. पुनले सुनाए। दूषित पानीमा पाइने कलेरा, कोलिफर्मजस्ता जीवाणुका कारण नेपालमा बर्सेनि झाडापखाला र आउँजस्ता रोग लाग्ने गरेको पाइएको छ। त्यसैगरी शुद्ध पानीको अभावमै हेपाटाइटिस ए र इ संक्रमण हुने गरेको पाइन्छ। पानीमात्रै नभएर दूषित खानबाट समेत यस्ता रोग सर्न सक्ने भएकाले यसतर्फ पनि सचेत रहनुपर्ने डा. पुनले बताए। त्यसैले सफाइ व्यवस्थापन नभएका चिया तथा खाजा पसलका खाने कुरा, सडक छेउमा खुला रुपमा राखिएका खानेकुरा नखान उनले सुझाए।

यही मौसममा धुलो उड्ने र धुलो तथा प्रदूषणको कारण छाला तथा आँखासम्बन्धी रोग देखिने भएकाले सचेत भएर हिँड्नुपर्ने पाटन अस्पतालका छाला रोग विशेषज्ञ डा. भाष्कर कायस्थले बताए। डा. कायस्थका अनुसार यो मौसममा रुखमा नयाँ पात फलाउने र नयाँ फूल फुल्ने भएकाले तथा धुलोधुवाँ उड्ने कारण छाला तथा आँखामा समेत एलर्जी हुन सक्छ। यो मौसममा घरबाहिर निस्कँदा चश्मा र मास्क प्रयोग गरे एलर्जीबाट बच्न सकिने डा. कायस्थको सुझाव छ। ‘हावाहुरी चल्ने भएकाले यो मौसममा आँखामा एलर्जी बढी देखिन्छ’, उनले भने। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.