तनहुँ, असार १९ः कोरोनाले आवातजावतमा कठिनाई भएको र दिनप्रतिदिन संक्रमित बढीहरेको बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शुक्रबार गृह जिल्ला पुगेर विभिन्न आइसोलेशन र क्वारेन्टिनका लागि स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
कोरोनाका कहरबीच पनि त्यसको कुनै प्रवाह नगरी त्यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि र जनताको दुःख, समस्याका कैयौं कुरा आफै उपस्थित भएर वरिष्ठ नेता पौडेलले सुनेका छन् ।
दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले जीपी कोइराला श्वास प्रश्वास केन्द्र, आदिकवि भानुभक्त क्याम्पस, बन्दिपुर अस्पताल, दमौली हस्पिटल, भिमाद, देवघाट, मध्यनेपाल नगरपालिकाको आइसोलेसनमा ५३ सेट पिपिई, तीनहजार थान सर्जिकल मास्क, ५५ लीटर सेनिटाइजर, ७० थान एन ९५ मास्क, १ सय २५ थान टावेल, लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

साथै नेपाल पत्रकार महासंघ तनहुँ र जिल्ला प्रहरी कार्यालयलाई समेत सो अवसरमा स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।
यसअघि वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस जिल्ला कार्यालय तनहुँलाई एक लाख २५ हजार नगद सहित लकडाउन यता विभिन्न समयमा जिल्लाका विभिन्न ठाउँमा राहत उपलब्ध गराउन विभिन्न सस्थाहरुलाई आग्रह गर्दै आएका पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा मन्तव्य दिदै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अन्त्य गरेर मुलुकलाई दुर्घटना तर्फ धकेल्न खोजेको आरोप लगाए ।
संसद अन्त्य हुँदै गर्दा महत्वपूर्ण विधेयकको विषयमा छलफल हुन नपाएको उनको भनाइ थियो । “एमसिसि राष्ट्रघाती हो या मुलुकका लागि हितकर हो भनेर संसदमा छलफल हुनुपर्दथ्यो, तर हुन पाएन, वरिष्ठ नेता पौडेलले भने ।
सत्ताधारी पार्टीको विवादले देशको विकासमा अवरोध सिर्जना हुन पुगेको र यो संक्रमणको घडीमा पनि सरकार भ्रष्टाचारमा लिप्त हुनु अत्यन्त दुर्भाग्य भएको र सरकारले गरेका भ्रष्टाचारका विषयमा खबरदारी गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।
कोरोना र सलहले मुलुकको अर्थतन्त्र धराशयी बन्दै गएको बेला मुलुक र जनताको आर्थिक स्तर उठाउन कृषि ,पर्यटन र ऊर्जामा विशेष ध्यान दिन नेता पौडेलले जोड दिए ।
त्यस्तै सिङगो मुलुकमा कोरोनाको नियन्त्रण र उपचारको विषयमा केन्द्र सरकार असफल भएपनि स्थानीय तहहरुले निर्वाह गरेको भूमिका उदाहरणीय रहेको उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी वद्रीनाथ अधिकारीलेसमेत मन्तव्य राखेका थिए ।