मकवानपुर, कात्तिक २३ः विश्व नै हल्लाएको कोरोनाबाट बच्न हाल आममानिसले अपनाएको व्यक्तिगत स्वास्थ्य सुरक्षा सावधानीका विधिले अर्को खतरनाक रोगबाट मुक्ति दिलाएको छ ।
मकवानपुरमा चालू आर्थिक वर्षको हालसम्म १३ जना मात्र डेंगुका बिरामी फेला परेपछि कोरोना संक्रमणको त्रासका कारण अपनाइएको स्वास्थ्य सुरक्षा विधि डेंगुबाट बच्न पनि हितकारी देखिएको हो । मकवानपुरमा अघिल्लो वर्ष करिब ४ हजारमा देखिएको डेंगु यस वर्ष एकदम न्यून देखापरेको छ ।
अघिल्लो आर्थिक वर्ष ३ हजार ३८ मानिसमा संक्रमण भएको डेंगु यस वर्ष कमलाई देखिनु सुखद रहेको सरोकारवाला बताउँछन् । जिल्लाका सरकारी, निजी अस्पताल तथा निजी क्लिनिकमा १३ जना डेंगुका बिरामी फेला परेका हुन् । विशेष गरी साउनदेखि कात्तिक आधाआधीसम्म फेला पर्ने यो रोग मकवानपुरमा यस वर्ष १३ जनामा मात्र देखापरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए ।
कोरोना भाइरससँग बच्न अपनाइएको सुरक्षाका सावधानीको प्रभावका कारण पनि यस वर्ष डेंगुका बिरामी कम भएको उनले बताए । कोरोनासँग बच्न घर, आँगनदेखि हरेक अवस्थामा सुरक्षाका सावधानी अपनाइएको छ ।
फोहोर व्यवस्थापन तथा पानी जम्ने खाल्डाखुल्डी व्यवस्थापन गर्दा डेंगुका बिरामी कम देखिएको सूचना अधिकारी केसीको भनाइ छ । उनले भने–फोहोर भयो भने मानिसलाई विभिन्न प्रकारका रोग लाग्ने गर्दछ । कोरोनासँग बच्न मानिसहरु सफा गर्नेतिर केन्द्रित भएका छन् ।
डेंगु संक्रमण भयो भने अस्पतालमा उपचार गराउन पनि समस्या हुने मानिसमा छ । अस्पताल जाँदा कोरोना संक्रमण होला भन्ने मानसिकताका कारण पनि मानिसहरु घरमै बसेर सावधानीका उपाय अपनाएको पाइएको छ । सबै सचेत भएकै कारण डेंगुका बिरामी कम भेटिएका हुन्।–सूचना अधिकारी केसी बताउछन् । नेपाल समाचारपत्रबाट