कोरोनाविरुद्वको खोप सरकारको पहिलो प्राथमिकता

| 2021 Sep 26 | 07:46 am 1957

काठमाडौं, असाेज १०ः प्रधानमन्त्री शेरबहादुर देउवाल नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणालीभित्र रही नेपाली जनतालाई कोरोना महामारीबाट जोगाउन सरकार निरन्तर लागिपरिरहेको बताए । उनले कोभिड–१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखी सम्पूर्ण नागरिकका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागि रहेको र करोडौं नागरिक यसबाट लाभान्वित भइसकेको दाबी समेत गरे ।

नेपाल चिकित्सक संघको शनिबार शुरू भएको स्वास्थ्य शिखर सम्मेलनको उद्घाटन गर्दै उनले महामारीले अहिले सम्पूर्ण जनजीवन प्रभावित पारेको भन्दै कोभिडविरूद्धको खोप सबैलाई दिलाउने सरकारको पहिलो प्राथमिकता रहेको बताए । उनले खोपमा सबैको सुपथ, सरल र सहज पहुँच, ज्ञान तथा अनुभवको साटासाट र औषधि तथा औषधिजन्य उपकरणको समयमै आपूर्तिलाई सरकारको प्राथमिकतामा राखेको बताए । कार्यक्रममा प्रधानमन्त्री देउवाले कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहने जिकिर गर्दै  महामारीको सामनाका लागि नीतिगत स्पष्टता पनि आवश्यक भएको बताए ।

संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको बाजी लगाउँदै नेपाली नागरिकहरूको जीवन रक्षाका निम्ति स्वदेशमा उपलब्ध सीमित, स्रोत, साधनको अधिकतम सदुपयोग गर्दै स्वास्थ्य सेवा प्रवाहमा निर्वाह गरेको अतुलनीय भूमिकाको प्रशंसा गरे । उनले आगामी दिनमा आउन सक्ने प्राकृतिक विपत्ति तथा महामारीका सम्बन्धमा राष्ट्रले अवलम्बन गर्न सक्ने रणनीतिक योजनालाई प्राथमिकतामा राख्दै सम्मेलनका विषयवस्तु छनोट गरिएको जानकारी पनि दिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.