-
कृष्ण प्रसाद सापकोटा
कोरोना भाइरसका कारण अहिले देश लकडाउनमा छ जसका कारणले गर्दा जनताको दैनिकी दिनानुदिन कठिन हुँदै गएको छ भने लकडाउनको बाबजुत पनि कोरोना संक्रमितको संख्या पनि थपिदै गएको छ । हाम्रो देशको छिमिकी मुलुक भारतमा कोरोनाले महामारीको रुप लिँदै छ खुला सीमाको कारणले संक्रमितहरु नेपाल प्रवेश गरेका खबरहरु आइरहेका छन् । भोलिका दिनमा नेपालमा पनि सरकारको यही निरीहपन रहिरहे बिकराल रुपलिने सम्भावना बढेर गएको देखिन्छ ।
अहिले सरकार जिम्मेवारी निभाउने कुरालाई भुलेर एकपछि अर्को विवादित कार्य गरेर जनतालाई निराश पारिरहेको छ । लामो लकडाउनका कारणले खानाखान नपाएर मजदुरहरु तड्पीदै बस्नुपरेको अबस्थामा नेकपाका नेताहरु सरकार गिराउन र सरकार बचाउन अथवा सत्ताको किचलो देख्दा ती गरिब र मजदुरलाई कति पीडा हुँदो हो । केपी ओलीले सरकारको नेतृत्व सम्हालेदेखिका दिनलाई सरसर्ती हेर्दा प्राय आफ्नो शक्त्ति संचय गर्न र विरोधीहरुलाई त्रसित पार्ने काम बाहेक अरुकुनै ठोस काम गर्न सकेनन् । सरकार अहिले जनताको जीवन रक्षा गर्न र नेपाललाई आर्थिक बिकराल हुननदिन र खाद्यसंकट हुन नदिन कृषकको समस्यालाई समाधान गरेर अघि बढ्नुको सट्टा सरकारको यो रवैयाको कारणले जनता झनझन असुरक्षित बनेका छन् ।
चुनावको बेला चुनाव जित्नका लागि बोलेको समृद्ध नेपाल–सुखी नेपालीको नाराले मात्र जनता खुशी र मुलुक समृद्धीको दिशामा अघि बढ्न सक्दैन त्यसका लागि सुझ बुझका साथ अघि बढ्नु र ब्यबहारमा लागु गर्नुपर्छ । देश लकडाउनमा रहेको बेला निमुखा गरिब र मजदुरको चुलो निभ्न नदिनु र लकडाउनपछिको हुनसक्ने भयाबहलाई कसरी सामना गर्ने तिर ध्यान पुर्याउनुको सट्टा सरकारका धेरै क्रियाकलाप अधिनायकवादी र सर्वसत्तावादी देखिएका छन् । जुन कुरा सरकारको पछिल्लो क्रियाकलापले समेत देखाई रहेको छ ।
प्रधानमन्त्री केपी ओली मुलुकको समग्र विकास भन्नुहुन्छ तर व्यवहारमा उहाँ उल्टो गरिरहनु भएको छ । हाम्रो संविधानले राज्यका चार अंग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र पत्रकारिता स्वतन्त्र हुनुपर्छ भनेको छ, तर सरकार यी सबै अंगमाथि प्रहार गरेर सर्वसत्तावाद र निरंकुशता लाद्न खोजिरहेको छ ।
छिमेकि मुलुक भारतमा बढ्दो कोरोनाको कारणले गर्दा सिमानामा नेपाल आउनेहरुको कारणले बिबाद बढिरहेको समाचार आइरहेका छन् । सरकारले यसलाई बेलैमा सोची थपकड़ाई गर्न तर्फ लाग्नु पर्दछ अन्यथा भारतसंग जोडिएका क्षेत्रहरुमा भयाभह हुने निश्चित छ । यस्तो विपदकाे बेला नेकपा भित्रको शक्त्ति संघर्षले जनताको सुख दुःख भन्दा पनि पदलोलुपतामा लिप्त देखिएको छ ।
यो बिपदमा नेकपाले सरकारलाई काम गर्न सघाउनु र सरकार जनताको जीवन रक्षाको लागि चाहिने कोरोना सामाग्री छिटो भन्दा छिटो ल्याउनु को सट्टा सत्ता जोगाउन र सरकार गिराउन मात्र ध्यान जानुले जनतामा निरासता छाउनुको साथै व्यवस्थामै प्रश्न चिन्ह खडा हुँदै गइरहेकाे छ ।