काठमाडौं, पुस ३ : दक्षिण कोरिया रोजगारीका लागि लिइएको सीप परीक्षणमा ६ हजार ७७३ जना नेपाली उत्तीर्ण भएका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा उत्तीर्ण पछि लिइएको सीप परीक्षणमा उक्त संख्यामा नेपाली युवा–युवती उत्तीर्ण भएका हुन् । कोरियाको मानव संसाधन विभागले अन्तिम नतिजा प्रकाशन गरेको हो ।
सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३५६ जना सामेल भएका थिए । जसमा १२ हजार १० जना भाषा उत्तीर्ण भएका थिए । भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थी भिडियोबाट सीप परीक्षण गरी अन्तिम नतिजा प्रकाशन गरेको हो । अब अन्तिम सूचीमा परेकाबाट रोजगारदाताले छनोट गर्नेछ ।
कोरियाले उत्पादन र कृषि क्षेत्रमध्ये कुनमा कति उत्तीर्ण भएको भन्ने खुलाइएको छैन । कोरियाले पहिलो पटक यसै वर्षदेखि सीप परीक्षण शुरु गरिएको हो । कोरियामा जाने कामदार अदक्ष र काम गर्न नसकेको भन्दै सीप परीक्षण गर्न थालिएको जनाएको छ ।