कोभिड–१९ नियन्त्रणका लागि २४ अर्ब ऋण लिने

| 2020 Apr 02 | 08:34 am 1351

काठमाडौं, चैत २०ः नोबेल कोरोना भाइरससँग जुध्न सरकारले सात राष्ट्रिय र चारवटा अन्तर्राष्ट्रिय विभिन्न शीर्षकबाट प्राप्त हुनेबाट आर्थिक स्रोत व्यवस्थापन गर्ने भएको छ ।

कोभिड–१९ भाइरसको संक्रमण रोक्न, लकडाउनका कारणबाट प्रभावित भएका क्षेत्रलाई राहत कार्यक्रम सञ्चालन गर्न, श्रमिक तथा निम्न वर्र्गीय व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउन तथा उद्योगी व्यवसायीलाई निजहरुको उद्योग व्यवसायको संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत परिचालन गर्न लागिएको हो ।

सरकारले गत आइतबार गरेको विभिन्न निर्णयको आर्थिक स्रोत व्यवस्थापनसहितका ९ बुँदे निर्णय र उपनिर्णय अर्थ मन्त्रालयले पनि सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले कोभिड–१९ सँग जुध्न, लकडाउनका बेलामा आर्थिक र व्यवस्थापन गर्न तीनओटै तहको सरकारको जिम्मेवारी र भूमिका पनि स्पष्ट पारेको छ ।

यसैबीच अर्थ मन्त्रालयले यस प्रयोजनका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको जानकारी दिएको छ ।

कोभिड–१९ रोगको उपचारका लागि प्रयोग हुने औषधी, स्वास्थ्य उपकरण, सेनिटाइजर, पन्जा, पीपीईको आपूर्ति तथा अस्पतालको क्षमता विस्तारसमेतका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप बजेट व्यवस्था गरेको र स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर गर्न स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीले घोषणा गरेबमोजिम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा पनि ५० करोड रुपैयाँ बजेट प्रधानमन्त्री कार्यालयलाई उपलब्ध गराइसकेको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.