कोइराला ‘क्याम्पको क्लोजअप’ : देउवालार्इ चुनौती, संकटमा पौडेल

| 2018 Aug 21 | 07:32 am 1385

काठमाडौं, भदौ ४: काँग्रेसमा संस्थापन पक्ष अलोकप्रिय हुँदै गएपछि कोइराला परिवारको सक्रियता बिस्तारै बढेको छ। कोइराला परिवारका तीन हस्तीहरू काँग्रेस महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरू शेखर कोइराला र सुजाता कोइरालाले भेटघाटलाई बाक्लो बनाएका छन्।

गतवर्ष साउनयता कोइराला परिवारका नेताहरूबिच पटक-पटक भेटघाट र वार्ता भएको छ। जसलार्इ कांग्रेसजनले आगामी महाधिवेशनमा काँग्रेसमा कोइराला परिवारको नेतृत्व स्थापित गर्ने प्रयत्नका रूपमा अर्थ्याउँदै आएका छन्।

आइतबार सञ्‍चारकर्मीसँग कोइरालानिवास विराटनगरमा कुरा गर्दै महामन्‍त्री शशांकले भने, ‘नेतृत्वका लागि हामी तीनमध्ये एक अघि बढ्छौँ। उनले लामो समयको छलफल, भेटघाट र समझदारीपछि यो वाक्याशं बाहिर ल्याएका थिए।

उनले थपे, ‘कोइराला परिवारबारे मान्छेहरूले अनेक अड्कलबाजी गरिरहेका छन्। हामीबीच समझदारी छैन भन्ने प्रश्न उठाउँदै आइरहेका छन्। यो निरर्थक र निराधार कुरा हो। नेतृत्वको विषयमा हामीबीच समझदारी बनेको छ। हामी उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौँ। नेतृत्वका लागि तीनमध्ये एक अघि बढ्छौँ।’

उनीहरूले १४औँ महाधिवेशनको तयारी अघि बढाएका छन्। अझ यो गठबन्धनमा सम्भव भएसम्म सबैलाई समेट्ने र देउवालाई एक्ल्याउने उनीहरूको नीति छ।

देउवालाई चुनौती

कांग्रेसका भ्रातृ संगठनका सबैजसो पछिल्लो अधिवेशनले देउवालाई हतोत्साही बनाएको छ। शिक्षक संघ, ट्रेड युनियन, कानुन व्यवसायीहरूको संस्थाको निर्वाचनमा देउवा पक्षले पराजय भोगेको छ। निर्वाचनमा पराजयको अपजस सबैभन्दा बढी देउवालाई नै छ। तर, आत्मसमीक्षा र कार्यक्रम केही छैनन्। त्यसैले देउवापक्ष स्वतः कमजोर हुँदै छ। त्यसमा पनि प्रकाशमानदेखि सिटौलासम्म र केबी गुरुङदेखि गच्छदारसम्मलाई कोइराला परिवारले समेट्न सके सामना गर्न देउवालाई महाभारत हुनेछ।

पौडेललाई संकट

कोइराला परिवारको नयाँ पहलले सबैभन्दा ठूलो चोट रामचन्द्र पौडेललाई पर्दै छ। कोइराला परिवारकै राजनीतिक विरासतलाई सदुपयोग गरेर पार्टी र सरकारको नेतृत्वमा पुग्ने उनको योजना अहिलेसम्म सफल भएको छैन। कोइराला परिवारले बीचबाटोमै साथ छोडेमा पौडेलको यात्रा संकटमा पर्नेछ। उनीप्रति कार्यकर्ताको सद्भाव छ, तर संगठनमा हस्तक्षेप गर्ने प्रभाव छैन। कोइरालाहरूले साँच्चै साथ छाडेमा नेतृत्वका लागि देउवासँग सम्झौता गर्नुको विकल्प उनीसँग छैन। देउवाकै अस्तित्वका लागि यो स्थिति आउन सक्छ।

कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘उहाँ (कोइराला)हरूले पार्टी नेतृत्वका विषयमा बोल्नुभएको विषयलाई मैले ‘सिरियस्ली’ लिएको छैन । तर, अहिले नै नेतृत्वको विषयमा बोल्ने वेला भएको छैन । पार्टीको चिन्ता लिन सकिन्छ, तर अहिले त हाम्रो पार्टीको स्थितिलाई सुधार्नुपर्ने चुनौती छ। पार्टीलाई सुधार्न छोडेर सबैले मै मै भन्यो भने पार्टी मजबुत हुँदैन। आफू हुनेबित्तिकै पार्टी राम्रो हुन्छ भन्ने ग्यारेन्टी हुनुपर्‍यो अन्यथा अहिले पार्टीको स्थितिलाई सुधार्नतिर लाग्नुपर्छ ।’

पौडेलले थपे, ‘मेरो नेतृत्वलाई चुनौती दिन कोइरालाहरूको मिटिङ भएको होइन। ‘कोइरालाहरू एकले अर्कालाई मान्दैनन्’ भनेर बाहिर हल्ला चलेपछि, आक्षेप लागेपछि ‘हैन है, हामीहरू सँगसँगै छौँ’ भन्नका लागि कहिलेकाहीँ सँगै खाना खान जम्मा हुनुभएको हो। उहाँहरूले मेरो खिलाफ मोर्चाबन्दी गरेको म ठान्दिनँ। उहाँहरू मसँगै हुनुहुन्छ। पार्टीलाई अगाडि लैजाने सवालमा कोइरालाहरू मात्रै होइनन्, हिजो मलाई सहयोग नगरेका साथीहरू पनि अहिले मसँगै हुनुहुन्छ। अर्को समूहसँग उहाँहरूको मोहभंग भएको छ। पार्टीको ठूलो पंक्ति मसँगै छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.