के ठाकुर बन्लान् त नयाँ प्रधानमन्त्री ?

रिपोर्ट नेपाल | 2021 Mar 13 | 08:20 am 2045

काठमाडाैं, फागुन २९ः नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ ।

पार्टीभित्रको विवादले अर्को रुप नलिएसम्म एमाले नेतृत्वको वर्तमान सरकारलाई टिकाइराख्न जनता समाजवादीको समर्थन भए पुग्छ । तर जनता समाजवादी पार्टीभित्रै केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा मतभेद छ । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओली नेतृत्वको सरकारप्रति नरम देखिए पनि उपेन्द्र यादव र बाबुराम भट्टराई वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा देखिएका छन् । सत्तारुढ एमालेभित्रको माधवकुमार नेपाल, झलनाथ खनालसहितको असन्तुष्ट समूह मात्र होइन, सत्तासाझेदार माओवादी केन्द्र पनि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारले मुलुकको शासन सञ्चालन गर्ने नैतिक आधार गुमाएको भन्दै एक वर्षअघि नै विकल्प खोज्नुपर्ने निर्णय गरेको थियो । तर एमाले र माओवादी केन्द्रबीचको एकीकरणले झन्डै दुई तिहाइ बहुमत नजिक रहेका ओलीविरुद्ध अविश्वास प्रस्ताव राख्ने हैसियत पनि कांग्रेसको थिएन । अहिले दुई दल विभाजनसँगै विकास भएको नयाँ घटनाक्रममा कांग्रेस फेरि एकपटक सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ । तर अहिले नयाँ सत्ता समीकरणको केन्द्रमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि नयाँ प्रधानमन्त्रीका रुपमा चर्चामा छ । नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.