सुर्खेत, माघ १४: जिल्लाको वीरेन्द्रनगर ४ मा टिपरको ठक्करबाट कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको मृत्यु भएको थियो । घटनाबाट विक्षिप्त बनेकी एक युवती कालिकोटकी अरुणा शाहीले आत्महत्या गरेकी छन् ।
मंगलबार बिहान वीरेन्द्रनगर ४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो ।
शाही सुर्खेतस्थित मामाघरमा झुण्डिएको भेटिएकी हुन् । सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको प्रहरीको दाबी छ ।
घटनाको बुझाई अनुसार उनीहरु एक अर्काको प्रेमी प्रेमीको रहेको अनुमान गरिएको छ ।
सिंहको मृत्यु पश्चात् घटनाको विरोधमा स्थानीयबासीले आन्दोलन गर्दा वीरेन्द्रनगर दिनभर तनावग्रस्त भयो ।
प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यसक्रममा ८ जना बिरोधकर्ता घाइते भएका थिए । उनीहरुको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले साँझ साढे ६ बजेबाट कर्फ्यू आदेश जारी गरेको छ ।