केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नबारेमा छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटारमा

| 2020 Feb 02 | 12:24 pm 1732

काठमाडौं, माघ १९: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आइतबार सकिंदैछ ।

चार दिन अघिदेखि बसेको बैठकको अन्तिम दिन आज अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

बैठक उद्घाटनपछि सहभागी नभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले समापनका अवसरमा केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने थापाले बताए ।

१५ वटा विभिन्न समूहबाट राजनीतिक प्रतिवेदन तथा संगठनात्मक प्रतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नहरूबारे प्रचण्ड र विष्णु पौडेलले विस्तृतमा जवाफ दिनेछन् । केन्द्रीय कमिटी बैठकले विभिन्न प्रस्तावहरू पारित गर्नेछ ।

बैठकअघि केन्द्रीय कमिटीमा उठेका प्रश्नबारेमा छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । दुवै अध्यक्षबीच छलफलपछि समान धारणा लैजाने प्रयास भइरहेको नेकपा स्रोतले जानकारी दिएको छ ।

बैठकमा एमसीसीका सन्दर्भमा विज्ञ सम्मिलित कार्यदल गठन गरेर एकमतले पारित गर्नुपर्ने सुझाव केन्द्रीय कमिटी बैठकमा आएको छ । यसबारे पनि छलफल हुने जनाइएको छ । अब कार्यदल गठन गर्ने समय नरहेकाले मुख्य नेताहरूबीचको छलफलबाट यसलाई टुंगो लगाइने सम्भावना रहेको स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.