केको गाईजात्रा ? नेता जात्रा मनाऊँ

| 2018 Aug 27 | 12:52 pm 2493

  • शिवहरी पौड्याल

मेरो छोरीले घरम झुन्ड्याएको क्यालेन्डर हेर्दै प्रश्न गरी बाबा, यो हरेक वर्ष हाम्ले झुन्ड्याएको क्यालेन्डरमा गाईजात्रा पर्व भनेर लेखिएको हुन्छ । यो गाईजात्रा पर्व भनेको के हो बाबा ? यो कसरी मानाइन्छ ? मैले भने घरको कुनै सदस्यको मृत्यु भएमा त्यो मृत्यु भएको सदस्यको सम्झनामा हरेक वर्ष गाईलाई सिंगारेर टोल छिमेकमा घुमाएर मानाइने जात्रालाई गाईजात्रा पर्व भनिन्छ छोरी । छोरीले फेरी भनी मैले त ऐलेसम्म यो जात्रा मनाको देखेकै छैन ।

मैले भने आजभोलि यस्ता धेरै पर्वहरु लोप हुँदै गाका छन् छोरी । किन लोप हुँदै गएको बाबा ? मैले भने गाईको संख्या घट्दै गयो मान्छेको संख्या बढ्दै गयो । गाई पाल्ने मान्छेहरु पनि घट्दै गए । त्यसपछि छोरीले केही पनि प्रश्न गरिन ।

वास्तवमा अबको पुस्ताले यस्ता कैयौं पर्व मिस गर्दै जनेछन् । लोप नहोस् पनि कसरी ? कसले गाई पाल्ने, कसले दुःख गर्ने, कोलीफोम पाउडर मिसाएको दूध र मिसावट दूध खान पाइएकै छ । त्यही दूधबाट बनेको घिउ र दही अनि मिठाइहरु पनि खान पाइएकै छ ।

सम्बन्धित सरकारी निकायको अनुगमन टोलीले दूधमा भएको अखाद्य वस्तु त पत्ता लाउँछ र विभिन्न सञ्चार माध्यमबाट जनतालाई जानकारी पनि गराउँछ । तर हाम्ले खान भने छोड्का छैनौं । खानु बाध्यता पनि भएको छ ।

माथिका कुराहरु त गाईजात्राको प्रशंगले उब्जाएका कुराहरु हुन् । वास्तवमै गाईजात्रा मनाउने हो भने अब गाईजात्रा होइन गाईजात्राको ठाउँमा मान्छेको जात्रा मनाउनुपर्छ ।

मान्छे जात्रामा पनि नेता जात्रा मनाउनु पर्छ र हरेक वर्ष धुलो र हिलोको सामना गरेर सयौंपटक जिउँदै मरेका हामी नेपाली जनताको सम्झनामा नेता र नेताले बाटो बनाउने जिम्मा दिएका, बाटो घाटो, ढल निकास बनाउने नेताको सालो र भाइ भतिजालाई सिंगारेर बाटोमा घुमाएर नेता र ठेकेदार जात्रा मनाउनुपर्छ ।

यो गाईजात्रा पर्व पैलापैला नेता र सरकारलाई व्यंग्य हान्न पाइने दिनका रुपमा पनि लिइन्थ्यो अरे । त्यै भएर मैले पनि हल्का व्यंग्य प्रहार गरेजस्तो गरी मनको पीडालाई शान्त पार्न खोजेको जस्तो गरेका छु । हुन त व्यंग्यले मात्रै हुने भए गाईजात्रा पर्वको उपलक्ष्यमा वर्षैपिच्छे नेपाल प्रज्ञा प्रतिष्ठानको रंगमञ्चमा हाँस्य कलाकारले गर्ने व्यंग्य नै काफी थियो ।

तर ती व्यंगयहरु हाँस्नका लागि मात्रै सावित हुँदै आएको छ । जुन देशका बाटोघाटो गतिलो छैन, बर्षौ सम्म पनि पिच बाटोमा हिँड्न नपाउने अवस्था छ त्यही देशका रेल र ग्याँसको पाइप घरघरमा आइपुग्ने भाषणले हाँस्य कलाकारको प्रहसनलाई नै खल्लो बनाइदिएको छ । हुनत नेताहरुलाई मात्र दोष दिने पक्षमा म छैन ।

किनकि देशमा विकास नहुनु र जनताले सुख नपाउनुमा हामी जनताहरु पनि प्रत्यक्ष दोषी छौं । हामीले आफ्नो अधिकारका लागि विरोध गर्न नसक्नु, उल्टै विभिन्न राजनीतिक पार्टीको सदस्य लिनु र उनीहरुकै पक्षमा लागि नै रहनु, वर्षैसम्म पटकपटक चुनाव जिताएर पठाए पनि विकास नगरेको देखेपछि फेरी पनि उसैलाई भोट हालेर जिताउनु नहुने हो ।

तर विडम्बना ५ वर्षसम्म जुन नेताहरुलाई गाली गर्छौं, चुनाव आइसकेपछि फेरी तिनैलाई भोट हालेर जिताउँछौं र फेरी बाँकी कार्यकाल तिनैलाई गाली गरेर बिताउँछौं ।

के हामीले नै विकास नचाहेको हो त ? होइन भने प्रत्येक पटक किन उही असक्षमलाई जिताएर पठाइरहन्छौं ? के पुरानो पुस्ताका नेतालाई पाखा लगाउनलाई नयाँ नेताहरु आउन नसकेका हुन् त ? कि हामीलाई नयाँमा विश्वास नलागेर हो ? हाम्रो पुस्ताले देश विकास भएको देख्न नपाउने हो त अब ? हामीसँग जवाफ छैन

एैले त झन् देशमा प्रदेश पनि बनेको छ । तर के को लागि ? देश विकास गर्नका लागि हो कि नेताहरुलाई पद बाँड फाँड मात्र गर्नलाई हो ? देश विकास गर्नलाई नै प्रदेश बनेको हो भने त ठिकै छ । होइन भने पदमा आशीन भएर मात्र के गर्ने ? गाविसमा नेता नगरपालिकामा नेता, प्रदेशमा नेता, केन्द्रमा नेता ।

कसले केके काम गर्ने हो ? गाविसले नै विकास गर्न सक्छ भने नगरपालिका किन चाहियो ? नगरपालिकाले नै सक्छ भने प्रदेश किन चाहियो ? प्रदेशले नै सक्छ भने केन्द्रीय सरकारमा किन त्यत्रा मन्त्रीहरु चाहिएको ? प्रदेश कै नेताहरुले आ आफ्नो प्रदेशको विकास गर्दा पूरै देशको विकास भइहाल्थ्यो ।

देश विकास गर्न त परै जाओस, विदेशीले आएर उसकै लगानीमा बनाइदिएको बाटो पुल पुलेसा भत्क्यो भने त्यसको मर्मत गर्ने सामथ्र्य पनि छैन हामीमा अब तपाइहरु नै भन्नोस् हामी के का लागि हौं ।

अब यसै भएन उसै भएन, लागेको बानी हो, धुलो र धुवाँमै बसौं । अविकसित मुलुककै नागरिक भएर बसौं र प्रत्येक वर्ष भित्तामा झुन्डिएको क्यालेन्डरमा भएको गाईजात्रा पर्व लेखेको हेरेर जात्रा मात्र मनाऔं । अरु जे हुन्छ हुन्छ ।

नमस्ते बाइबाई । बाँकी कुरा फेसबुकमा गाली गरौ र आफूलाई देशभक्ति र राष्ट्रप्रेमी देखाँऊ, दिन काटौं। जय देश, जय नेपाल, जय गाईजात्रा । कामना गाईजात्रा विशेष

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.