कपिलवस्तु, कात्तिक १४: लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू जारी गरेको छ । कर्फ्यू उलंघन गर्न खोज्दा प्रहरीको गोली लागी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुरजकुमार पाण्डे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयले भने पाण्डेको मृत्युबारे कुनै प्रतिक्रिया दिएको छैन।
लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो।
कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको आदेशमा उल्लेख छ।
प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी पनि दिएको छ । यसअघि गत वर्ष पनि दशैँमा दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कृष्णनगरमा विवाद हुदाँ प्रशासनले कर्फ्यू लगाएको थियो। गत वर्ष तीन दिनसम्म विवाद लम्बिएपछि स्थिति नियन्त्रणमा लिन कात्तिक ५ गतेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको थियो।
