कृषि र पशु सेवा केन्द्र बन्द हुँदा कृषक मर्कामा

रिपोर्ट नेपाल | 2018 Oct 23 | 08:26 am 1983

म्याग्दी, कार्तिक ६: कर्मचारी अभावका कारण म्याग्दीका पाँच वटा कृषि र पशु सेवा केन्द्र बन्द भएका छन् ।

कार्यरत कर्मचारी घरपायक सेवा केन्द्रमा सरुवा भएर गएपछि दुई वटा पशु सेवा र तीन वटा कृषि सेवा केन्द्र बन्द भएका हुन् । सरुवा गरिएका प्राविधिक कर्मचारीको पदपूर्ति नहुँदा तीन वटा कृषि र चार वटा पशु सेवा केन्द्र कार्यालय सहयोगीले धानेका छन् ।

रघुगङ्गा गाउँपालिका–६ पाखापानीका दुतबहादुर पाइजाले कर्मचारी अभावमा पशु र कृषि सेवा केन्द्र बन्द भएपछि पशुपक्षीको उपचार, औषधि, बीउबिजन, रोग किराको नियन्त्रण र परामर्श सेवाबाट वञ्चित भएको गुनासो गरे।

धौलागिरि गाउँपालिका–२ लुलाङ र अन्नपूर्ण–६ घारस्थित पशु सेवाको सेवा केन्द्र कर्मचारी अभावमा बन्द भएको छ । यस्तै अन्नपूर्ण गाउँपालिका–६ घार, रघुगङ्गा–६ पाखापानी र बेनपा–९ घतानको कृषि सेवा केन्द्र पनि बन्द भएको छ ।

स्थानीय तहमा हस्तान्तरण भए पनि जनप्रतिनिधिको बेवास्ताका कारण पशु र कृषि क्षेत्रका कार्यक्रम, योजना तथा बजेट नहुँदा कर्मचारी निराश बनेर धमाधम सरुवा हुने क्रम बढेको बताइएको छ।

निजामती र प्राविधिक सेवामा म्याग्दीका जनशक्ति कम हुनु पनि एउटा कारण भएको निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन म्याग्दीका उपाध्यक्ष डिल्लीराम रेग्मीले बताए।

सेवा केन्द्र बन्द हुँदा कृषि क्षेत्रमा दीर्घकालीन असर पर्ने कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताए। बीज वृद्धि कार्यक्रमले गत वर्ष निरन्तरता नपाउँदा म्याग्दीमा यसपालि आलु, गहुँ, धान, मकै, तोरीको बीउ अभाव भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.