दाङ, माघ १० :कृषि, पशुपंक्षी तथा विकास मन्त्री चक्रपाणी खनाललाई दाङमा बधिया भाले उपहर प्रदान गरिएको छ। दाङमा सुरु भएको प्रदेश स्तरीय पोल्ट्री महोत्सव उद्घाटन गर्न आएका मन्त्री खनाललाई दाङको कोशेलीको रुपमा बधिया भाले उपहर दिइयो।
दाङ बदिया भाले उत्पादनमा प्रख्यात भएकाले स्थानीय उत्पादनलाई चिनाउन मायाको चिनोका रूपमा उपहार दिएको आयोजकले जनाएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति र दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजना महोत्सव सुरु भएको हो ।
महोत्सव उद्घाटन गर्दै मन्त्री खनालले नेपाल कुखुरा व्यवसायमा मात्रै आत्मनिर्भर भएको बताए । अरू सबै सामग्री आयात गर्नुपर्ने अवस्थामा रहेको उल्लेख गर्दै उनले कुखुरा र अण्डा उत्पादनमा नेपालले उल्लेख्य प्रगति गरेको बताए । ‘हामीसँग प्रशस्तै उत्पादनका सम्भावनाहरू भए पनि किनेर खानुपरेको छ,’ उनले भने,‘आफ्नो परम्परागत कृषि पेसा छोडेर विदेश धाउने चलन सुरु भएको छ ।’
कृषि पेसा गर्नेको जीवनमा कहिल्यै परिवर्तन नआएको बताउँदै मन्त्री खनालले अब कृषिलाई सम्मानजनक पेसा बनाउन सरकार लागिपरेको जानकारी दिए ।