कृषकलाई यान्त्रिक हलो वितरण

रिपोर्ट नेपाल | 2018 Jun 28 | 02:57 pm 3748

फलेवास, १४ असार : कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले महाशिला गाउँपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती गर्न लगाउन पाइने भएकाले कृषकको मागअनुसार गाउँपालिकाले यान्त्रिक हलो वितरण गरेको हो ।

गाउँपालिकाका ६ वटै वडाका कृषक समूहलाई मागका आधारमा यान्त्रिक हलो वितरण गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । पहिलो चरणमा एउटा समूहलाई एउटा यान्त्रिक हलो वितरण गरिएको छ ।

“आगामी आर्थिक वर्षमा मागअनुसार यान्त्रिक हलो वितरण गरिनेछ,” उनले भने । कूल रु ५४ हजार मूल्य पर्ने यान्त्रिक हलो गाउँपालिकाले ६० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

जलजला, मोदी कुश्मा, फलेवास, विहादी र पैँयुले समेत कृषकलाई यान्त्रिक हलो वितरण गरिसकेका छन् । यसअघि जिल्ला कृषि विकास कार्यालयले करीब ३०० वटा यान्त्रिक हलो वितरण गरेको थियो । डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.