कुहिएको अवस्थामा शव फेला

रिपोर्ट नेपाल | 2018 Aug 25 | 07:48 pm 2379

लहान, भदौ ९: दुई हप्ता पहिले घरैबाट अपहरणमा परेकी सिरहाको गोलबजार नगरपालिका–१० की कारीदेवी यादवको शव आज शनिबार गाडिएको अवस्थामा भेटिएको छ । सिरहाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

शव गन्हाउन थालेपछि स्थानीय बासिन्दाले बाँसघारीमा शव गाडिएको हुनसक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय विष्णुपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले शव गाडिएको अवस्थामा निकालेको थियो ।

शव निकालेपछि उक्त शव अपहरण भएकी कारीदेवीकै भएको उनका आफन्तजनले बताएका छन् । शव पोष्टमार्टमका लागि सिरहा जिल्ला अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताएका छन् । साउन २५ गते आफ्नै घरबाट दुई जनाले तपाइँको भतिजा बिरामी रहेको भन्दै कारीदेवीलाई अपहरण गरी लगेको स्थानीय बासिन्दाले जनाएका छन् ।

जेठाजुसँग घरजग्गा अंशको विषयमा कारीदेवीको विवाद भएको र त्यही विवादका कारण यादवको अपहरण भएको हुनसक्ने भन्दै स्थानीय बासिन्दाले तीन दिनअघि यादवको दुई जना आफन्तलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए ।

यो विषयलाई लिएर आक्रोशित स्थानीय बासिन्दाले अपहृत यादवको खोजतलासमा प्रहरीले चासो नदिएका कारण अपहरणकारीले हत्या गरी गाडेको भन्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोहर्वा सडक खण्ड एक घण्टा अवरुद्ध गरेका छन् । स्थानीयको अवरोधका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधनहरु बाटोमै रोकिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.