कुष्ठरोगी अघिल्लो आर्थिक वर्षको तुलनामा ३३ ले बढी फेला

| 2020 Jan 27 | 09:56 am 1682

काठमाडौं, माघ १३: नेपालमा २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा गरिएको भएपनि १७ जिल्लामा कुष्ठरोगका निवारण हुन सकेको छैन ।

आर्थिक वर्ष २०७५/७६ मा ३ हजार २ सय ८२ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी फेला परेको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७४/७५ मा ३ हजार २ सय ४९ जनामा कुष्ठरोगको संक्रमण रहेको पत्ता लागेको थियो।

अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका अनुसार, अहिले उपचारमा २ हजार ९ सय २१ जना संलग्न रहेका छन्। नयाँ मध्ये १४ वर्षमूनिका २ सय ६० जना विरामी छन्। नयाँ विरामी मध्ये ११ सय ४२ जना महिला रहेका छन्।

केन्द्रका अनुसार तराई लगायतविभिन्न १७ जिल्लाहरुमा कुष्ठरोगको प्रकोपदर १ भन्दा बढी रहेको छ। अहिलेसम्म कुष्ठरोगको कारणबाट ३१ हजारभन्दा बढी अपांग भएको अनुमान केन्द्रले गरेको छ।

६७औं विश्व कुष्ठरोग दिवकाका अवशरमा केन्द्रले सन् २०२० को अन्त्यसम्म सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रति १ हजार जनसंख्यामा १ भन्दा कम गर्ने लक्ष्य लिएको छ।

त्यस्तै, कुष्ठरोगको नयाँ बिरामीमध्ये १४ वर्षमुनिकाहरुको हकमा असमर्थताको तह २ लाई शून्य बनाउने, सबै नयाँ निदान भएका कुष्ठरोगका विरामीहरुमा तह २ असमर्थतालाई प्रति १० लाख जनसंख्यामा १ भन्दा कम गर्ने र कुष्ठरोग प्रभावितहरुलाई भेदभाव हुने प्रकारको कानूनी प्रावधानहरुलाई शून्य बनाउने लक्ष्य लिएको छ।

सरकारले झापा, मोरङ, पर्सा, धनुषा, रुपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, अछाम, उदयपुर, इलाम लगायतका जिल्लामा कुष्ठरोग संक्रमणको न्यूनिकरण गर्न एलपीइपी सेवा सञ्चालन गरेको छ।

त्यसैगरी आनन्दबन अस्पताल, आइएनएफ र लालगढ कुष्ठरोग अस्पतालको सहकार्यमा सुधारात्मक शल्यक्रियाका कार्यक्रमहरु सञ्चालन भइरहेका छन्।

केन्द्रका अनुसार ७७ वटै जिल्लामा प्रदेश मेडिकल स्टोर मार्फत बहुऔषधि व्यवस्थापन भइरहेको छ। कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने तर ज्यादै कम सर्ने रोग हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.