दाङ, कात्तिक १५ः तुलसीपुरमा टिककै दिन कुमार बिककाे खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१६ निबासी २२ बर्षीय पवन चौधरी र वडा नम्वर १० पड्ढा निबासी २४ बर्षका अमृत चौधरी रहेका छन् । उनीहरूलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
अनुसन्धानका क्रममा उनीहरुले अपराध स्वीकार गरीसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । आरोपीले दशैं टिकाको दिन राति साढे ९ बजे उपमहागनरपालिका–११ नवलपुर निबासी ४५ बर्षीय कुमार विकको बायाँखुट्टा चुरीगाँठादेखि तलतिरको भाग काटेर अलग गराईदिएका थिए । घटनामा संलग्न खोज्ने क्रममा प्रहरीले ८० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
आरोपीले प्रयोग गरेको खुर्पा, घटनाको दिन लगाएको कपडा पनि प्रहरीले बरामद गरेको छ । घटनाको विषयमा थप अनुसनधन भईरहेको डिएसपी सिंहले बताएका छन् । घाइते विकको भारतको लखनउँमा उपचार भईरहेको डिएसपी सिंहले जानकारी दिए।