कुटपिटबाट बाबुको हत्या तथा प्रहरीलाई अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 02 | 03:36 pm 1770

ललितपुर, साउन १८ः कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्रमउ पर्नेमा गोदावरी नगरपालिका ९ छम्पी डाइछापका २८ वर्षीय सन्तोष नेपाली रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि पाटन अस्पताल हुँदै छाउनी अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।

मृत्युपछि दाहसंकारको लागि पशुपति आर्यघाट लगेको भन्ने जानकारी प्राप्त हुनासाथ कुटपिट गर्ने सन्तोष नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

त्यसैगरी मोरङमा प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात समेत गर्न खोजेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका १५ सुडी बस्तीका २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देव रहेका छन् ।

उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा तस्करीका सामान ओसारपसार हुन लागेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले निग्रानी गर्ने क्रममा उनीहरू समेतले घर अगाडि प्रहरी किन आएको भन्दै होहल्ला मच्चाएका थिए ।

ईलाका प्रहरी कार्यालय रानीको ना १ झ १३४८ नम्बरको गाडीको सिसा फुटाई क्षति पुर्‍याएपछि घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.