कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 22 | 07:19 pm 1796

काठमाडौं, माघ ८: छुट्टाछुट्टै जिल्लामा कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको कटारी नगरपालिका १० राम्चेका ६६ वर्षीय बल बहादुर सुनुवारको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ४४ वर्षीय केवल बहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

छिमेकी पहलमान सुनुवारको घरमा विवाहमा गएको अवस्थामा केवल बहादुरको कुटपिटबाट गम्भीर घाइते भएका बल बहादुरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यसैगरी धादिङ, खनियाँवास गाउँपालिका ४ घाम्साका ३२ वर्षीय सन्त बहादुर तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा नेत्रावती गाउँपालिका १ का २९ वर्षीय रोशन तामाङ र उनका भाई २५ वर्षीय राम तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सामान्य बादबिवादको क्रममा उनीहरुले सन्त बहादुर र सोही ठाउँका २८ वर्षीय रविन तामाङलाई कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दर्खाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका सन्त बहादुरको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते रविन तामाङको जिल्ला अस्पताल हुँदै ट्रमा सेन्टर काठमाडौंमा थप उपचार भइरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.