कीर्ते कागजात बनाउने गिरोह पक्राउ

| 2021 Jul 01 | 07:55 am 1617

काठमाडौं, असार १७ः लामो समयदेखि राजधानीमा बसेर सरकारी कार्यालयका कागजात कीर्ते गर्ने काममा संलग्न रहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बयरवन घर भई शान्तिनगर बस्दै आएका रेवतीरमण निरौलाको समूहलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी स्वास्थ्य संस्थादेखि शैक्षिक संस्थाको प्रमाणपत्रसमेत नक्कली बनाएर बिक्री गर्ने गरेको पाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

सो समूहले फार्मेसीको लाइसेन्स, एसएलसीदेखि स्नातकसम्मको ट्रान्सक्रिप्ट, सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, नागरिकता, ड्राइभिङ लाइसेन्सलगायतका सबै प्रकारका प्रमाणपत्र बनाउने गरेको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।

प्रहरीले निरौलाको फ्ल्याटबाट पाँच बोरा कीर्ते कागज, एक सय ९१ थान विभिन्न सरकारी कार्यालयको छापसमेत बरामद गरेको छ । निरौलाले फार्मेसी काउन्सिलको प्रमाणपत्र लिनका लागि नक्कली प्रशिक्षार्थी खडा गरेर पास गराउने काममा समेत निरौलाको प्रमुख भूमिका रहेको पनि उनले जानकारी दिए ।

महाशाखाले निरौलाको फ्ल्याटबाट बरामद गरेको कागजातमा त्रिभुवन विश्वविद्यालयका ट्रान्सक्रिप्टदेखि उच्च माध्यमिक शिक्षा परिषद्, एसएलसी, सीटीईभीटी, पूर्वाञ्चल विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका नक्कली मार्कसिट र प्रमाणपत्र फेला पारेको थियो ।

निरौलाले तहअनुसारको पैसा लिने गरेको समेत पत्ता लागेको प्रहरीले जानकारी दिएको छ । निरौलाले फार्मेसी परीक्षा पास गराएबापत एक लाख ३० हजारभन्दा बढी रकम लिएको फेला परेको प्रहरीले जानकारी दिएको छ । निरौलाले एसएलसी र प्लस टुको मार्कसिट बनाएबापत २६ हजार लिएको उल्लेख छ ।

त्यसैगरी, बीए, बीबीएसलगायतका ट्रान्सक्रिप्ट सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, आदि बनाएको १० देखि ३५ हजारसम्म शुल्क लिएको पाइएको छ । नक्कली नागरिकता, सवारी लाइसेन्स आदि बनाएको १० हजारसम्म शुल्क लिए पाइएको एसएसपी खापुङले जानकारी दिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.