‘कि त मेयर चौधरीलाई पागलखानामा भर्ती गर्नुपर्यो, नत्र महिलाले कठालोमा समाएर घिसार्नु पर्छ’

| 2019 Jun 21 | 04:20 pm 2024

विराटनगर, असार  ६ :  इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले महिलाका विषयमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति प्रदेश–१ सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । शून्य समयमा बोल्दै  कांग्रेसकी सांसद  बिन्दिया कार्कीले चौधरीले महिलाको कार्यक्रममा महिलाप्रति दिएको अभिव्यक्ति निन्दनीय भएको बताइन् ।

सांसद कार्कीले मेयर द्वारिकलाल चौधरीले पहिलो आक्रमण पत्रकारमाथि गरेको र केही कारवाही नभएपछि फेरि आँट पाएर महिलामाथि अभद्र शब्द प्रयोग गरेको बताइन् । ‘‘के इटहरीको मेयर नेकपाले डामेर छाडेको साँढे हो ? जथाभावी बोलेर महिलाको चरित्र हत्या गर्ने ?’’ उनले भनिन्, ‘‘पत्रकारको कठालो समाएर जथाभावी बोलेर गुन्डागर्दीमा उत्रिएका थिए । त्यो हेर्दाहेर्दै सरकारले कुनै किसिमको भूमिका निर्वाह गरेन । फेरि आँट पाएर महिलाकै चरित्र हत्या गर्ने काम गरे ।’’

सबै महिलालाई एकै ठाउँमा राख्दै महिलाले लगाउने लिपिस्टिक र गर्भधारण नगर्न प्रयोग हुने पिल्स प्रयोग गर्ने महिलाका विषयमा दिएको अभिव्यक्ति खेदपूर्ण भएको उनले बताइन् ।

सांसद कार्कीले मेयरले जे गरे पनि जे बोलेपनि सत्तापक्षले केही नगरेकोले नै एउटै शब्द २९ पटक दोहोर्याएर महिलाको विषयमा जथाभावाी बोलेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘‘त्यो शब्द म यहाँ प्रदेशसभामा उच्चारण गर्न सक्तिनँ । मैले अरुको मुखबाट अहिलेसम्म सुनेको छुइनँ, तर मेयरले बोले । सरकार किन हो चुप ? डामेर छाडेको साँढे हो मेयर चौधरी ? नेकपामा आउने युवक युवतीले अब यही हेरेर आउने हो ?’

उनले नेकपा पार्टीमा आउँदा जे बोल्न र गर्न पाइन्छ भन्ने भावनाको विकास भएको आरोप लगाइन् । यसको जिम्मा नेकपाले लिनुपर्ने समेत बताइन् । उनले भनिन्, ‘कि त मेयर चौधरीलाई पागलखानामा भर्ती गर्नुपर्यो । नत्र कठालोमा समाएर महिलाले घिसार्नुपर्छ ।’

इटहरीमा बढ्दो वेश्यावृत्ति रोक्नका लागि मेयर चौधरीले कार्यक्रममा अशोभनीय शब्द प्रयोग गरेका थिए। उनले पटकपटक इटहरीको लबिपुर चोकलाई ‘र… जिन्दावाद’ भन्दै भाषण गरेका थिए। उनले छतिमा हात राखेर भनेका थिए – ‘मनराेञ्जन गर्न र…डी नै चाहिन्छ, घरभाडामा लगाउन र…डी नै चाहिन्छ, औषधी चलाउन र…डी चहिन्छ, र…डी जिन्दावाद ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.