रौतहट, पुस ३ः रौतहटको श्रीराम सुगर मिल बन्द भएपछि रौतहटका उखु उत्पादक किसानले कम मूल्यमै सखर उद्योगलाई उखु बिक्री गर्न थालेका छन् ।
रौतहटको अर्को बाबा बैजुनाथ सुगर मिलले क्रसिङ सुरु नगरेका कारण पनि किसान सखर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । गत वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तोकेको थियो । यस वर्ष मूल्य तोक्न ढिला भएको छ । किसानले सखर उद्योगलाई प्रतिक्विन्टल चार सय रुपियाँमा उखु बेचेका छन् ।
“यस जिल्लामा एउटा चिनी मिल बन्द छ भने भएको अर्को मिलले उखु खरिद गर्न सुरु नै गरेको छैन । यस्तो अवस्थामा उत्पादित उखु सखर मिललाई बिक्री गर्नु किसानको बाध्यता हो । उखुबाली हटाई मुसुरो, गहुँलगायतका हिउँदेबाली लगाउन आतुर भएका किसानले सस्तैमा भए पनि सखर उद्योगलाई उखु बिक्री गर्न थालेका छन्,” जिल्ला उखु उत्पादक सङ्घका अध्यक्ष अशोक यादवले भने।
सिँचाइ अभावमा अन्य बाली उत्पादन नहुने भएपछि बर्सेनि उखु खेती गर्दै आएका गढीमाई नगरपालिका हथिऔलका किसान जयदेव दासले अब उखु खेतीबाट फाइदा लिन सकिने अवस्था नरहेको बताए ।
सखर उद्योगी पनि सखरबाट खासै फाइदा नहुने बताउँछन् । रौतहटको गढीमाई नगरपालिकामा करिब एक दर्जन सखर उद्योग सञ्चालनमा छन् । सखरको मागबमोजिम उखुको मूल्य निर्धारण हुने सखर व्यवसायी रामेश्वर दासले बताए । उनका अनुसार अहिले उखुको मूल्य प्रतिक्विन्टल चार सयदेखि साढे चार सय रुपियाँ रहेको छ ।
१२ क्विन्टल उखु पेल्दा एक क्विन्टल सखर उत्पादन हुने अर्का सखर उत्पादक व्यवसायी रामप्रवेश दासले बताए । उत्पादित सखरमध्ये कालो सखरको मूल्य प्रतिक्विन्टल पाँच हजार र सेतो सखरको मूल्य प्रतिक्विन्टल छ हजार पाँच सय रुपियाँ रहेको उनले जानकारी दिए ।
भारतबाट अवैध रूपमा भित्रिने सखरका कारण नेपाली सखर उद्योग धराशायी बन्दै गएकाले किसान र उद्योगी दुवैलाई मर्का परेको बताउदै उले भारतीय सखरको मूल्य कम हुँदा नेपाली सखरको बिक्री वितरण प्रभावित बनेको गुनासो गरे । गाेरखापत्र दैनिकबाट