किसानलाई निःशुल्क वितरण गरेको फलफूलका बिरुवा मरे सय रुपैयाँ जरिवाना

रिपोर्ट नेपाल | 2018 Jul 12 | 04:18 pm 2444

तुलसीपुर, असार २९ : तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखा कार्यालयले यस महिनाको हालसम्ममा किसानलाई विभिन्न प्रजातिका १३ हजार ६०३ फलफूलका बिरुवा निःशुल्क रुपमा वितरण गरेको छ ।  कृषि विकास शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक केसीका अनुसार नगरपालिकाका १९ वडाका किसानलाई बिरुवा वितरण गरेको हो ।

अझै ११ हजार बिरुवा वितरणका लागि तयारी अवस्थामा छ । कार्यालयले किसानलाई लक्ष्य गरी बीस हेक्टर जमीनमा फलफूलका बिरुवा उत्पादन गरेको थियो । आफूले उत्पादन गरेका बिरुवा अपुग भएपछि कार्यालयले कृषि अनुसन्धान केन्द्र धनकुटा, सल्यान लगायतका जिल्लाबाट ल्याई वितरण गरिरहेको केसीले बताए ।

वडा कार्यालयबाट सिफारिश लिएर आउने किसानलाई प्रतिकिसान २५ वटा बिरुवाका दरले निःशुल्क रुपमा वितरण गरिँदैआएको छ ।
“बिरुवा लगेर जोगाउनेलाई प्रतिबिरुवा रु एक सय दिएर प्रोत्साहन गर्छौं । यहाँबाट लगेको बिरुवा मरेमा प्रतिबिरुवा रु एक सयका दरले किसानलाई जरिवाना तिर्न लगाउँछौँ,” उनले भने ।

वितरण गरिएका बिरुवामा सबैभन्दा बढी कागती, लिची, कटहर, अमला, लिची, अनार र अम्बा रहेका छन् । केराको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराउने कार्यालयले जनाएको छ ।  तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा फलफूल बगैँचा निर्माण गर्ने नीति नगरसभाबाट पारित गरेको छ । सोही सभाबाट बिरुवा जोगाउनेलाई प्रोत्साहन तथा बिरुवा मरेमा कारबाही गर्ने नीति पारित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.