किसानको मागअनुसार गहुँको बीउ उपलब्ध गराउन सकेन

रिपोर्ट नेपाल | 2020 Nov 26 | 09:39 am 2535

काठमाडाैं, मंसिर ११ः कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडाले किसानको मागअनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन ।

लिमिटेडको गोदाममा पर्याप्त मात्रामा गहुँको बीउ भण्डारण नहुँदा किसानलाई मागअनुसार बीउ उपलब्ध गराउन नसकिएको लिमिटेडका कार्यालय प्रमुख लक्ष्मण यादवले जानकारी दिनुभयो । कार्यालयका अनुसार चालु आव ०७७/०७८ मा करिब दुई हजार ५०० मेट्रिक टन गहुँका बीउको माग भए पनि कार्यालयबाट करिब एक हजार ६१२ मेट्रिक टन मात्र बीउ उपलब्ध गराउने लक्ष्य रहेको छ ।

कार्यालयको कार्य क्षेत्रअन्तर्गत यस आव ०७७/०७८ मा वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश नं २ को बारा, पर्सा र रौतहट जिल्लामा गहुँको बीउ उपलब्ध गराउने योजना छ तर सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा अन्य जिल्लामा समेत गहुँको बीउ उपलब्ध गराउँदै आएको कार्यालयको भनाइ छ ।

कार्यालयले ती जिल्लाका विभिन्न सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्तामार्फत गहुँको बीउ बिक्री गर्दै आएको छ । गहँुको जात वा बालीमा भृकुटी, विजय, एनएल ९७१ र गौतम आदि पर्दछन् ।

किसानको मागअनुसार कम्पनीले गहुँको बीउ पर्याप्त मात्रामा उपलब्ध गराउन नसकेको कार्यालयमा गहुँको बीउ खरिदका लागि आउनुभएका सर्लाही कवलासी निवासी कवलासीस्थित कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

कार्यालयका अनुसार प्रत्येक वर्ष किसानको मागअनुसार गहुँको बीउ पूर्णरूपमा उपलब्ध गराउन सकेको छैन । किसानसँग वैशाख महिनासम्म खरिद गरी राखेको गहुँको बीउलाई कम्पनीले प्रशोधनपश्चात् बिक्री वितरण गर्ने गर्दछ । कार्यालयले किसानसँग गहुँको बीउको गुणस्तरको अवस्था हेरी प्रतिकेजी रु ३५ देखि ४० सम्ममा प्रत्येक वर्षको वैशाख महिनासम्ममा खरिद गरेको बीउलाई हाल प्रतिकेजी रु ६५ मा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्तालाई बिक्री गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.