किशोरी हत्या प्रकरण : प्रदर्शनले उग्र रुप लिएपछि महेन्द्रनगरमा कर्फ्यू लगाईयो

| 2018 Aug 23 | 03:01 pm 2071

कञ्चनपुर, भदौ ७ : १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या प्रकरणको विरोधमा कञ्चनपुरमा भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य भागमा पनि बालिकाका हत्यारालाई कारबाही माग गर्दै थालिएको प्रदर्शन झन् चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालिन कर्फ्यू जारी गरेको हो ।

बिहीबार दिउँसो भीमदत्त नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालय नजिकै प्रदर्शनकारी र प्रहरीबीच रक्तपातपूर्ण झडप भएको थियो । यो झडपका क्रममा प्रहरीको गोली लागेर कम्तिमा पनि आठजना प्रदर्शनकारी घाइते भएका थिए ।

आज भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए। भीमदत्तनगर र बेदकोट नगरपालिका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीले बन्द गराएका छन् । स्वस्फूर्तरुपमा ठूलो सङ्ख्यामा विद्यालयका विद्यार्थीसमेत सडकमा उत्रिएका छन् ।

जिल्ला सदरमुकाम भीमदत्तनगरबाट सञ्चालन हुने यातायात सेवासमेत पूर्णरुपमा ठप्प रहेको छ । अप्रिय घटना हुन नदिन ठाउँठाउँमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.