किवी खेतीबाट मनग्गे आम्दानी

रिपोर्ट नेपाल | 2023 Feb 09 | 07:44 am 1453

पाल्पा, माघ २६ः परम्परागत खेती छाडेर किवी खेतीमा लागेका किसानले पाँच गुणासम्म फाइदा लिएका छन् । परम्परागत रूपमा मकै, गहुँ, कोदो र तोरी खेती गर्दै आएका किसानले किवी खेतीबाट मनग्गे आम्दानी गर्न सफल भएका हुन् ।

अन्य खेतीभन्दा किवी खेतीबाट पाँच गुणाभन्दा बढी फाइदा लिएको पूर्वखोला–२, जल्पाकी किसान मीनादेवी कवरमगरले बताइन् । “मकै, कोदो, गहुँ तथा तोरी लगाउने बारीमा अहिले किवी लगाएका छौँ । किवीबाट पाँच गुणासम्म फाइदा हुने रहेछ,” उनले भनिन् ।

मकै लगाउँदा बाँदरको आक्रमण सहनुपर्ने र मकै नफल्ने समस्या थियो । किवी खेती लगाएपछि किसानलाई बाँदरको समस्या पनि हट्यो, फाइदा पनि राम्रै भयो,” पूर्वखोला–२ का वडाध्यक्ष नीरबहादुर सारूले भने । सात वर्षअघि गाउँका केही युवाले किवी खेती गरेपछि त्यसको सिको गर्दै जल्पाका महिलाले सामूहिक किवी खेती सुरु गरेका वडाध्यक्ष सारूले बताए । किवी खेतीका लागि पूर्वखोला गाउँपालिकाले आवश्यक तालिम, बीउ तथा प्राविधिक सहयोग गरेको छ ।

यस जिल्लाको माथागढी गाउँपालिकाका किसान पनि किवी खेतीमा आकर्षित भएका छन् । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.