चितवन, भदौ २२: पछिल्लो समय भूमाफियाको निकै बिगबिगी बढेको छ। कँही घरमै काम गर्ने कामदारले साहुको जमिनको कागज किर्ते गरी बिक्रि गरेका छन् भन कँही मालपोतकै कर्मचारीको मिलेमतोमा अर्काको जग्गा बिक्री गरेका छन्।
बुधबार मात्रै काठमाडौं महानगरपालिका-४ स्थित भारतीय नागरिक राम निरंजन जटियाको सञ्चालक रहेको शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नाममा भएको बालुवाटार स्थित कित्ता नं. ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गा सहितको घर, सतुंगल- ९ को कित्ता नं- १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोटमा रहेको जमिन कम्पनीमै काम गर्ने जित बहादुर मगरले किर्ते कागज बनाइ मालपोतका कर्मचारीको मिलेमतोमा बिक्रिका वैना गर्दै हिडेको खुलासा भयो। प्रहरीले उक्त गिरोहका १२ जनालार्इ बुधबार नियन्त्रणमा लिएको थियो।
त्यसैगरी बिहीबार चन्दनकृष्ण कायस्थलाको बूढानीलकण्ठस्थित करिब १० करोड बराबरको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले उनैलाई पत्तो नदिई बेचिदिए। प्रहरी कार्यालयमा उजुरी परेपछि मालपोत कार्यालयका तीन जनालार्इ नियन्त्रणमा लिएर सोधपुछ गरेपछि थाहा भयो कि कर्मचारीले नक्कली जग्गाधनी खडा गरेर कायस्थको ४० आना जग्गा बुधबार बिक्री गरेका थिए।
मालपोत कार्यालयमा रहने स्रेस्तामा नै उनको फोटो उप्काएर अर्को व्यक्तिको फोटो राखी नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री भएको खुलेको हो। प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
यि दुर्इ घटना सेलाउन नपाउँदै फेरी शुक्रबार अर्को घटना सार्वजनिक भयो। चितवनमा अरुको जग्गा आफ्नो हो भनी किर्ते कागज बनाइ बिक्रि गर्ने माया भनिने बिन्दु लामा मगरलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरका अनुसार मायाले अर्काकै जग्गाको लालपुर्जामा आफ्नो फोटो टाँसेर किर्ते गरेको अभियोगमा पक्राउ गरी म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
चितवनको रत्ननगरपालिका-२ बस्ने ३० वर्षीय बिन्दुलार्इ अरुको जग्गा आफ्नो हो भनी किर्ते कागज बनाइ ठगी गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टाँडीको टोलीले नियन्त्रणमा लिएको इप्रका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए।
उनका अनुसार लामा मगरले रत्ननगरपालिका-२ स्थित लेखनाथ बास्तोलाको नाममा रहेको कित्ता नम्बर ४२०१ को १६९.३१ वर्गमिटर क्षेत्रफल भएको जग्गा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-५ बस्ने प्रकाश थापालार्इ बिक्रिका लागि नगद १२ लाखको वैना लिएको खुलेको छ। ४५ लाखमा बिक्रि गर्ने कबुल भएको उक्त जग्गाको वैना पाएपछि लामा फरार थिइन्।
उनले ढुकुटी, मिटर व्याज लगायतका अवैधानिक व्यवसाय गरीरहेको पनि प्रहरीले अनुमान गरेको छ। यस कार्यमा गिरोह नै सक्रिय भएको हुनसक्ने प्रहरीले बताएको छ। लामालार्इ प्रहरीले विगत तीन वर्षदेखि खोजिरहेको थियो।
यसअघि पनि धादिङस्थित सार्वजनिक स्थलको जग्गा मालपोतकै कर्मचारीको मिलेमतोमा बिक्रि गरेको विषय सार्वजनिक भएको थियो। यसरी मालपोतकै कर्मचारीको मिलेमतोमा जग्गा बिक्रि वितरण हुन थालेपछि जग्गाधनी नै चिन्तित बन्न थालेका छन्।