किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए

| 2020 May 02 | 08:59 am 2285

काठमाडौं, बैशाख २०ः उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।

प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्माण गरिएको एक रसायनिक मल उद्योगको निर्माण समापन पछिको उद्घाटन कार्यक्रममा शुक्रबार किम सहभागी भएको  केसीएनएले जनाएको छ।

उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ ।

अप्रिल ११ पछि किमले  सार्वजनिक कार्यक्रममा भाग लिएको खबर तथा तस्बिर उत्तर कोरियाले सार्वजनिक गरेको थिएन । अप्रिल ११ मा उनले सत्तारुढ दल कोरियन वर्कर्स पार्टीको बैठकमा भाग लिएको बताइएको थियो।

समाचार एजेन्सी केसीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेका थिए । उनी आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए ।

लामो समयसम्म उनी कार्यक्रमहरुमा नदेखिएपछि गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए ।

सन् २०१४ मा पनि उनी ४० दिनसम्म कतै नदेखिँदा धेरै अफवाह फैलिएको थियो । त्यतिबेला त उनलाई सत्ताच्युत गरिएका सामाचारहरु आएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.