काठमाडौं, भदौ २: संघीय संसद्का १४ वटा विषयगत समितिका सभापतिको पूर्वघोषित निर्वाचन डेढ साता पर सरेको छ। राष्ट्रिय सभाका ४ समितिका सभापतिको आइतबार तथा प्रतिनिधिसभाका १० समितिको आगामी मंगलबार निर्वाचन तोकिएको थियो । अब राष्ट्रिय सभाका समिति सभापतिको १३ भदौ तथा प्रतिनिधिसभातर्फको १७ भदौमा निर्वाचन गरिने भएको छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले समिति सभापतिको निर्वाचन विशेष कारण भन्दै १७ भदौसम्म सारिएको जानकारी दिए । यसअघि बिहीबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि १३ भदौलाई निर्वाचन मिति सारिसकेका थिए।
सरकारका कामको अनुगमन तथा मूल्यांकन गरी निर्देशन दिन सक्नेसम्मको क्षेत्राधिकार संसदीय समितिलाई रहन्छ। यसका सभापतिलाई राज्यमन्त्रीसरह सेवासुविधा दिइन्छ। प्रत्येक समितिमा स्पष्ट बहुमत भए पनि प्रमुख प्रतिपक्षी कांग्रेसलाई सार्वजनिक लेखा समितिको सभापति दिन सत्तापक्ष नेकपाले तयारी गरेको छ । यद्यपि, कांग्रेसले ४ वटा समितिको सभापति दाबी गरिरहेको छ।
सत्ता साझेदार दल संघीय समाजवादी फोरमले एउटा समितिको नेतृत्व दाबी गरेकाले छलफल चलिरहेको नेकपाका नेताहरूले बताए । फोरमलाई एउटा समिति दिए बाँकी १२ समितिका सभापतिमा नेकपाले उम्मेदवारी दिनेछ।
किन स-यो निर्वाचन मिति ?
समिति सभापतिको निर्वाचन मिति पर सर्नुको एक कारणमा कांग्रेस सभापति शेरबहादुर देउवाको विदेश यात्रालाई देखाइएको छ । कांग्रेस सभापति देउवा हाल उपचारको क्रममा नेपालबाहिर छन्। उनी स्वदेश फर्कन अझै केही दिन लाग्ने भन्दै कांग्रेसले निर्वाचन केही दिन पर सार्न आग्रह गरेको बुझिएको छ। यस्तै, आगामी बुधबार बकर इद रहेकाले मुस्लिम सांसदहरूले समेत निर्वाचन सार्न सभामुखलाई आग्रह गरेको महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए।
सभापति बन्न सांसदको दौड
समिति सभापतिका लागि सत्तारूढ दलका नेताहरूको तीव्र दौड देखिएको छ। कतिपयले आफू मन्त्री बन्ने क्षमताको भएर पनि मौका नपाएकाले समितिको नेतृत्व पाउनुपर्ने दाबीसमेत गरेका छन्। तर, नेकपाले अहिलेसम्म कसलाई कुन समितिको सभापति बनाउने भन्ने टुंगो लगाएको छैन। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले कुन समितिमा को सभापति हुने भन्ने टुंगो लाग्न बाँकी रहेको जानकारी दिए।
‘निर्वाचनको मिति नै तोकिएकाले स्वाभाविक आकांक्षा त हुन्छ नै । तर, सभापति कसलाई बनाउने भन्ने टुंगो लागिसकेको छैन,’ नयाँ पत्रिकासँग नेम्वाङले भने।’
कुन समितिमा कसको सम्भावना ?
राष्ट्रिय सभा
विधायन व्यवस्थापन– परशुराम मेघी गुरुङ
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन– रामनारायण विडारी
राष्ट्रिय सरोकार तथा समन्वय– दिलकुमारी रावल थापा पार्वती
दिगो विकास तथा सुशासन– भैरवसुन्दर श्रेष्ठ
प्रतिनिधिसभा
अर्थ– घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे र महेश बस्नेत
कानुन, न्याय तथा मानवअधिकार – कृष्णभक्त पोखरेल
अन्तर्राष्ट्रिय सम्बन्ध– सरिता गिरी (फोरम), राम कार्की, अग्नि सापकोटा (नेकपा)
महिला तथा सामाजिक– अमृता थापा, गंगा चौधरी सत्गौवा
विकास तथा प्रविधि– गणेश पहाडी, यज्ञराज सुनुवार, प्रभु शाह
राज्यव्यवस्था तथा सुशासन– कृष्णगोपाल श्रेष्ठ, जर्नादन शर्मा, पम्फा भुसाल
शिक्षा तथा स्वास्थ्य– खगराज अधिकारी, पूर्णाकुमारी सुवेदी
सभापति कसलाई बनाउने भन्नेमा संसदीय दलको उपनेताका हैसियतबाट म र प्रमुख सचेतकलगायतको केही न केही भूमिका रहन्छ नै । तर, अहिले नै कुन समितिमा को सभापति हुन्छ भन्न सकिन्न । नयाँ पत्रिकाबाट