किन हुन सकेन बालविवाह न्युनिकरण ?

रिपोर्ट नेपाल | 2019 Mar 08 | 12:02 pm 2152

काठमाडौँ, फागुन २४ : विभिन्न तबरले सरकारी, गैर सरकारी संघ संस्था र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न चेतना मुलक कार्यक्रम सञ्चालन र प्रयास गर्दागर्दै पनि बालविवाहका घटना अझै न्युनिकरण हुन सकेको छैन ।

काठमाडौंस्थित केन्द्रीय बालकल्याण समितिले दिएको अनुसार विभिन्न माध्यमबाट प्रकाशित बालबालिकासम्बन्धी हरेक किसिमका घटनाको चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिको विश्लेषण गर्दा यस आर्थिक वर्ष अवधिमा विभिन्न जिल्ला बाँके, सुनसरी र झापालगायत गरी नौ जिल्लामा जम्मा ४६ वटा बालविवाहका घटना रहेका छन् । उक्त मध्येमा ५६ जना बालबालिकाले विवाह तथा विवाह गर्ने क्रममा रोकेको पाइएको छ ।

साथै तथ्यांकमा नआएका बालविवाहका घटना थुप्रै हुनसक्ने अनुमान गर्न सकिन्छ । समितिले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै २० जना (१० जोडी) ले उमेर नपुग्दै विवाह गरेका छन् भने दुई बालिकाको विवाह अनमेल(धेरै उमेर अन्तर)सँग भएको र ३४ जना बालिकाको वयस्क पुरुषसँग भएको उल्लेख छ ।

बालविवाह भएका ५६ जनामध्ये अभिभावकद्वारा २६ जना, आफूखुशी वा भागी विवाह १०, सामाजिक सञ्जाल र फेसबुकमार्फत उमेर नपुग्दै २० जनाको बालविवाह हुने गरेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिनुए ।

बालविवाहलाई लैङ्गिकरुपमा विश्लेषण गर्दा बालक १० जना र बालिका ४६ जना रहेका छन् । जिल्लागतरुपमा हेर्दा कालीकोट जिल्लामा सबैभन्दा बढी २६ जना बालबालिकाको बालविवाह भएको घटना प्रकाशमा आएको छ । बालविवाह गरेका अधिकांश जोडीलाई नेपाल प्रहरीले सम्झाइबुझाइ गरी उनीहरुको शैक्षिक निरन्तरताका लागि अभिभावकलाई सल्लाह तथा सुझाव दिएको छ ।

यस अवधिमा भएका ४६ वटा बालविवाहमध्ये १० वटा नेपाल प्रहरीबाट र चार वटा बालक्लबबाट गरी जम्मा १४ वटा बालविवाह रद्द भएका छन् । नेपाल सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याएको छ । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटनाक्रम स्वयं बालबालिकाबाटै हुने गरेको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.