किन रोक्यो त्रिविमा ४४ जना यात्रुलाई

रिपोर्ट नेपाल | 2018 Dec 12 | 11:07 pm 1882

काठमाडौं, मंसिर २६ :  शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन इन्कार गरेको छ।

उनीहरूले नेपालस्थित रुसी दूतावासबाट पर्यटक भिसा लिएका थिए। दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को जान लागेका ४४ यात्रुको यात्रा र कागजपत्रसमेत शंकास्पद देखिएपछि त्रिवि अध्यागमनले उनीहरूलाई फिर्ता गरेको हो।

एस ट्राभल्स एक्सप्रेस सर्भिसका तर्फबाट र भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्सका नवराज धितालको नेतृत्वमा ६३ जना यात्रु मस्को जान लागेका थिए। त्यसमध्ये ४४ जना रोकिए भने धितालसहित बाँकी १९ जना रुस पुगिसकेका छन्।

रुस घुमाउन लैजाने भिजिट अब्रोड ट्राभल्सले प्रत्येकलाई नक्कली परिचयपत्र बनाइदिएको छ। नक्कली कागजपत्र बनाएर अवैध ढंगले सर्वसाधारणलाई रुस लैजान खोज्‍नुले ट्राभल एजेन्सी नै मानव तस्करीमा संलग्‍न भएका त छैनन् भन्‍ने प्रश्‍न खडा भएको छ।

अध्यागमनबाट फर्काएपछि भिजिट अब्रोड ट्राभल्सले आफूहरूलाई नक्कली परिचयपत्र बनाइदिएको बताएका छन्। नक्कली परिचयपत्र बनाइदिएको विषयले रुस घुम्‍न मात्र जानेहरूलाई ट्राभल एजेन्सीको भूमिकामाथि शंका उब्जिएको छ।

अध्यागमनले घुम्‍न जाने नेपालीहरूको पहिलो गन्तव्य रुस नहुने भन्दै आइतबार उनीहरूलाई विमान स्थलबाट फिर्ता गरिएको थियो। सबै ‘कागजात भएका र भ्रमणको उद्देश्यसमेत स्पष्ट भएका यात्रुलाई नरोेकेको र शंकास्पद यात्रुलाई मात्र रोकेको अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले जानकारी दिए ।

एस ट्राभल्सका म्यानेजर राजु पन्तले भने आफूहरूले रुस घुम्‍न जान व्यवस्थापकीय जिम्मेवारी टिकट, भिसा र होटल बुकिङको काम मात्र गरेका अन्य विषयबारे हामी जिम्मेवार नरहेको बताए।

रुस जान रोकिएका ४४ जनाले सोमबार अध्यागमन विभागमा गएर आफूहरू जान पाउनुपर्ने दाबी गरेका थिए। यस सम्बन्धमा अध्यागमन विभागले मंगलबार नेपालस्थित रसियन दूतावास, भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्स र एस ट्राभल्स डटकमका अधिकारीसँग छलफल गरेको बताए।

अहिले उनीहरूको यात्रा र कागजपत्रबारे विभागले अनुसन्धान थालेको छ। अनुसन्धानपछि मात्र रोकिएकाहरू रुस जान पाउने/नपाउने टुंगो लाग्‍ने उपाध्यायले बताए।

त्रिवि अध्यागमन पुगेका उनीहरूले डेस्क अधिृकतले सोधेका कतिपय प्रश्‍नको उत्तरसमेत दिन सकेनन्। उनीहरूले बोकेको परिचयपत्रसमेत एकै किसिमको र शंकास्पद पाइएको छ।

उनीहरूले देखाएको परिचयपत्रका आधारमा डेस्क अधिृकतले इन्टरनेटमा उनीहरू कार्यरत संस्थाको नाम, परिचयपत्रमा उल्लिखित पद खोज्दासमेत नभेटिएको बताए। अध्यागमनले उनीहरूको यात्रा थप शंकास्पद र रहस्यमय ठहर गरेको छ।

अध्यागमनले आवश्यक कागजपत्र अध्यागमन विभागमा पठाएर उनीरूलाई त्यहीँ सम्पर्क गर्न भनेका थिए। उनीहरुका परिचयपत्रका आधारमा अध्यागमन अधिकृतले सोधपुछ गर्दा कतिपयले ती परिचयपत्र ट्राभल एजेन्सीले बनाइदिएको बताए।

मस्को गएका अधिकांश नेपालीलाई त्यहाँको अध्यागमनले फिर्ता गरेको विषयलाई दृष्टिगत गरी त्रिवि अध्यागमनले उनीहरूलाई रोकेको छ।

जाने अनुमित दिँदासमेत मस्को छिर्न कठिन हुने र ट्रान्जिटमा भएका बेला सारजाहबाटै गन्तव्य परिवर्तन गर्न सक्नेसमेत सम्भावना देखिएकाले उनीहरूलाई विमानस्थलमै रोकेको अध्यागमनका एक अधिकृतले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.