किन राखे गाउँपालिकाको मुल ढोकामा बम

| 2019 May 21 | 07:26 pm 2511

बझाङ, जेठ ७: छबिसपाथीभेरा गाउँपालिकाको कार्यालयको मुल ढोका बाहिर मंगलवार अज्ञात समुहले राखेको बम भेटिएको छ । कार्यालयको ढोकामा कागजले बेरिएको शंकास्पद बस्तु बिहान कर्मचारीहरुले देखेपछि जिल्लाबाट प्रहरी सहित नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । बम नेपाली सेनाको टोलीले निस्कृय पारे ।

मुख्य ढोकामा बम हुँदा कर्मचारी र जनप्रतिनिधिहरु कार्यालय भित्र जान नसकेर गाउँपालिकाको काम प्रभावित भएको थियो । दिउँसो नेपाली सेनाको प्राबिधिक टोलीले बम निस्कृय गरेपछि कार्यालयको काम सुचारु भएको प्रहरी नायब उपरीक्षक सूर्य केसीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक केसीका अनुसार गाउँपालिकालाई नेकपा विप्लव समुहले चन्दा माग गरेका बताए । गाउँपालिकाले चन्दा नदिएपछि विप्लव समूहका कार्यकर्ताबाट बम राखेको हुनसक्ने आशंका छ । अहिले त्यस क्षेत्रमा रहेका विप्लव समुहका कार्यकर्ताहरुको खोजीका लागी सुरक्षकर्मी परिचालन भएको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।

पछिल्लो समयमा विप्लव कार्यकर्ताले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले एक महिनाको तलब दिनुपर्छ भनेर परिपत्रका साथै फोनबाट चन्दा आतंक मच्चाइरहेको कर्मचारीहरुले जानकारी दिएका छन् । कार्यकर्ताहरुबाट गाउँमा आफूहरु असुरक्षित भएको भन्दै विप्लव समुहको राजनितीक समस्यालाई सरकारले समयमै समाधान गर्नुपर्ने जनप्रतिनिधिको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.