बाँके, चैत ७ : भारतीय भन्सारले अनलाइन सेवामा विभिन्न समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १ सय ४० वटा ट्यांकर रुपैडिया नाकामा रोकेको छ ।
अनलाइनमा समस्या आएको भन्दै ट्यांकरका साथै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए ।
केसीका अनुसार फलफूल र तरकारी गाडी कागजी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भने अनलाइन सेवा सञ्चालन नभएसम्म नेपाल आउने सम्भावना नरहेको बताए ।
नेपाली भन्सार कार्यालयले हिजोदेखि भारतीय भन्सारसँग समन्वय गरिरहेको बताए । सर्भरमा समस्या देखिएकोले बनाइरहेको जानकारी पाएको केसीले जनाए । भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा अवरोध गर्दै आएको उनले बताएका छन् ।
१० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीले देखाएका छन् ।
भन्सारका डेपुटी कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्यांकर छोड्नकै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीले बताएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत केसीले बताए ।
पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भित्र्याउन पहल भइरहेको जानकारी दिँदै नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिशेखकुमार ठाकुरले भने, ट्यांकर नेपाल भित्र्याउन हामीले निरन्तर पहल गरिरहेका छौँ ।
ठाकुरका अनुसार नेपाल आयल निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण छ । ट्यांकर भित्र्याउन वैकल्पिक उपायका बारेमा छलफल भइरहेको बताइएको छ ।