सुर्खेत, भदौ १९: रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थल १५ महिनादेखि बन्द अवस्थामा छ ।
उक्त विमानस्थल बन्द हुँदा त्यस क्षेत्रका विभिन्न जिल्लाहरु जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत आम नागरिकहरुले हवाई सेवा लिनबाट वञ्चित भएका छन् ।
महिनौदेखि सो विमानस्थल बन्द हुँदा त्यस क्षेत्रका सबै भन्दा बढी बिरामी पर्दा मर्कामा पर्ने गरेको बताएका छन् । नजिकै भएको विमानस्थलमा हवाई सेवा सुचारु हुन नसक्दा मिसन अस्पताल चौरजहारीबाट बाहिर पठाउनु परेका बिरामीहरुलाई समस्या हुने गरेको स्थानियहरुको गुनासो रहेको छ ।
जटिल अवस्था र थप उपचारका लागि सिफारिश गरिएका बिरामीलाई कच्ची सडकबाट जोखिम मोलेर मोटरमा सुर्खेत, नेपालगञ्ज तथा काठमाडौं लानु परेको स्थानीयबासी गोपाल रेग्मीले बताए ।
विमानस्थल नियमित सुचारु गराउन नागरिक उड्ययन प्राधिकरणसँग पहल र समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले बताए । सकेसम्म दैनिक तथा नभए कम्तीमा हप्तामा एक उडान गर्न नागरिक उड्ययन प्राधिकरणसँग पहल गरिरहेको शर्माले जानकारी दिए । प्राधिकरणले चाँडै यो समस्या समधान गर्ने प्रतिबद्धता जनाएको शर्माले बताए ।
नागरिक उड्ययन प्राधिकरणले उडानका लागि जहाज नभएकाले उडान बन्द भएको जनाएको छ । उडान तालिका राखे पनि जहाजको कमीले त्यस क्षेत्रमा उडान हुन नसकेको प्राधिकरणले बताए । केही समय अगाडि मात्रै साढे ४ करोड रकम खर्च गरेर सो विमानस्थल कालोपत्रे गरिएको थियो ।