काठमाडौं, माघ १४ : प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओलीले देउवा सहित विद्यार्थी संगठनका पदाधिकारीलाई त्रिभूवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको आसन्न निर्वाचनबारे छलफल गर्न भन्दै आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका थिए।
बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतका अनुसार, प्रधानमन्त्री ओलीले स्ववियू निर्वाचनको वातावरण राम्रो बनाउन आग्रह गरेका थिए। सभापति देउवाले भने सरकारका कामकारबाही सन्तोषजनक नभएको उल्लेख गरेका थिए।
सरकारले आफ्ना नेताको नाम मेट्ने कोसिस गरेको, संवैधानिक परिषदका सदस्य रहने प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति विनै संवैधानिक निकायका प्रमुख सिफारिस गरेको र विपक्षीले संसद अवरोध गर्दा गर्दै जबरजस्ती चिकित्सा विधेयक पास गरेकोमा देउवाले आपत्ती जनाएका सहमहामन्त्री महतले जानकारी दिए ।
काँग्रेस सभापति देउवा बोलेपछि नेविसंघ सभापति नैनसिंह महरले सरकारले नै द्वन्द निम्त्याएको बताएका थिए।
महरका अनुसार नेविसंघ महामन्त्रीलगायत विद्यार्थीको टाउको फुटाइएको छ। सरकारले द्वन्द्व निम्त्याएर स्ववियु चुनाव भाँडेको आरोप लगाएका थिए । साथै सरकारको गतिविधि सुध्रिएर आए मात्रै स्ववियु निर्वाचनको वातावरण तयार हुने पनि उनले बताए।
विद्यार्थी नेताका गुनासा सुनेपछि विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले स्ववियु चुनावका लागि वातावरण तयार गरेर अघि बढ्नुपर्ने धारणा राखे।
संयुक्त बैठक पछि ओली र देउवाबीच वान टु वान बैठक पनि भएको थियो। उक्त वान टु वानमा समेत कुनै ठोस निष्कर्श ननिस्केको सहमहामन्त्री महतले बताए।