काठमाडौं, बैशाख २६ः चीनबाटै सुरू भएकाे काेराेना महामारीले संसारलाई आतंकित बनाएर दर्जनाैं मुलुक लकडाउनमा रहेका बेला केही चीनिया नागरिकले स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका थिए ।
प्रहरीले निषेधित क्षेत्रमा धर्ना जुलुस गर्न नपाइने र अहिले लकडाउन चलिरहेका बेला धर्ना बस्न नहुने भन्दै सम्झाई रहेका बेला चिनियाँ नागरिक एक्कासी आक्राेशित भई प्रहरीमाथि जाइलागेपछि दुबै पक्षबीच केही समय झडप भएको छ ।
कुनै जानकारी नदिई लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।
महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेको पोखरेलको भनाई छ ।
त्यसक्रममा ३३ जना नै चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।
घाइते डीएसपी बस्नेतको प्रहरी अस्पताल र महिला प्रहरीको ट्रमा सेन्टरमा उपचार भइरहेको बुझिएकाे छ ।