किन पाएन बरिष्ठ नेता नेपालको विषयले प्रवेश ?

| 2018 Oct 08 | 02:18 pm 1695

काठमाडौं, असोज २२ : तल्ला तह एकीकरण प्रकृयामा सहमति नजुटेका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुङ्गीएको छ । सचिवालय बैठक असोज २४ गते बस्नेगरी हालको लागि सकिएको छ।

पार्टी विवादबारे छलफल गर्ने अनुमान गरिएको बैठकमा नेताहरुले विदेश भ्रमणको रिपोर्टिङ मात्रै गरेका छन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिका तथा कोस्टारिका र पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका विषयमा जानकारी गराएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको अहिलेको परिवर्तन र शान्ति प्रक्रियाको बारेमा विश्वलाई जानकारी गराएको, दुई पक्षीय सम्बन्ध बिस्तारको लागि उच्चस्तरीय भेटघाट भएको र भ्रमण सफल भएको बारे बैठकमा जानकारी गराएका थिए ।

बैठकमा बरिष्ठ नेता माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफ्नो चीन भ्रमणका विषयमा अवगत गराएका थिए। अघिल्लो सचिवालय बैठकपछि पार्टी नेतृत्वमा देखिएको असन्तुष्टिका विषयमा भने आज कुनै छलफल नभएको बताइएको छ। २४ गते बिहान ८ बजे अर्को सचिवालय बैठक बस्ने गरी समाप्त भएको आजको बैठकमा विवादित विषयमा कुरा नउठे पनि विवाद भनिएका विषयमा त्यही बैठकमा छलफल हुने नेकपा स्रोतले बताएको छ ।

२४ गते बस्ने बैठकले स्थायी समितिको बैठक र कार्यसूची निर्धारण गर्ने निर्णय गरेको पनि बुझिएको छ । आज सोमबारको बैठकमा बरिष्ठ नेता माधव नेपालले पोखेका असन्तुष्टी र उठाएका प्रश्नमा छलफल हुने अपेक्षा गरिएको थियो। तर उनले उठाएका विषयले बैठकमा प्रवेश नै नपाएको नेकपाका नेताले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.