किन परे छ हजार ट्याक्सी चालक ट्राफिक कारवाहीमा

रिपोर्ट नेपाल | 2019 Feb 05 | 12:30 pm 1725

काठमाडौँ, माघ २२ विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६ सय ६४ ट्याक्सी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ ।

चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई महाशाखाको टोलीले कारवाही गरेको हो । महाशाखाका अनुसार आर्थिक वर्ष २०७२–७३ मा दुई हजार ७ सय ९५, २०७३–७४ मा चार हजार ५ सय १८ र २०७४–७५ मा आठ हजार १ सय २० ट्याक्सी चालकलाई कारवाही गरेको जानकारी दिए ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यात्रुसँग मोलमोलाइ गरी बढी भाडा लिने ट्याक्सी चालकका लागि विशेष अभियान सञ्चालन गरी कारवाही गरिएको बताए । दैनिक ४० देखि ५० ट्राफिक प्रहरीलाई बढी भाडा लिने ट्याक्सी जाँचका लागि पठाउँदै आएका पन्तले जनाएका छन् ।

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने ५०० देखि एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको पन्तले बताए । ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्न महाशाखाले आग्रहसमेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.